हेटौंडाः भारतले नेपाली भुभाग अतिक्रमण गरी सडक निर्माण गर्नुलाई राप्रपा मकवानपुरले भारतको मिचाहा कदम भएको भन्दै उक्त कार्यको भत्र्सना गरेको छ । आज राप्रपा मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले कुटनीतिक पहल गरेर सशक्त र प्रभावकारी कदम चाल्नु पर्ने उल्लेख गरेको छ । आवश्यकताअनुसार भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने पनि राप्रपा मकवानपुरले सुझाएको छ ।
राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी नेतृत्वको एक टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन नै गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै राप्रपा मकवानपुरले भारतलाई सडक उद्घाटनको कार्यलाई अबिलम्ब फिर्ता लिन अनुरोध समेत गरेको छ । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको निमित्त नेपाली सचेत रहेको पनि विज्ञप्तिमा औँल्याइएको छ ।