महिला खेलकुदमा सहभागीहरु ।

हेटौँडाः हेटौँडामा बिहिबारदेखि सञ्चालन भएको हेटौँडा महिला खेल महोत्सवको ४ खेल सम्पन्न भएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता अन्तर्गत चार खेल सम्पन्न भएको हो ।

प्रतियोगिता हेटौँडा–४ स्थित हुप्रचौरमा भएको हो । बिहान भएको पहिलो हेटौंडा महिला रन प्रतियोगितामा ६८ जना सहभागी रहेकोमा सरिता हुमागाई प्रथम हुनुभएको छ । यस्तै अमृता मुक्तान दोस्रो, लक्ष्मी थिङ तेस्रो र पुजा लामा, अन्जु माया गोले सान्त्वना हुनुएको छ । दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

दोस्रो खेल महिला स्लो स्कुटी प्रतियोगितामा ७७ जना सहभागी रहेकोमा सुरक्षा राजथला प्रथम हुनुभएको छ । प्रतियोगितामा सिला श्रेष्ठ दोस्रो, संगीता गौतम तेस्रो र इन्दिरा बानियाँ सान्त्वना हुनुभएको छ । प्रतियोगतामा प्रथम हुने १० हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय र तृतीय हुने दुई जनालाई ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

तेस्रो खेलमा हेटौँडा महिला म्युजिकल चियरमा ७८ जना सहभागी रहेकोमा संगीता गोले प्रथम हुनुभएको छ । यस्तै, ज्योति लामा दोस्रो, रजनि श्रेष्ठ तेस्रो र लक्ष्मी गौतम, रोजी थापा सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् । चौथो खेलमा समूहमा महिला डोरी तानातान प्रतियोगितामा १३ नम्बर वडा प्रथम भएको छ । प्रतियोगितामा १४ वटा समूह सहभागी रहेकोमा मार्सल आर्ट ग्रुप दोस्रो भएको हो । प्रतियोगितामा प्रथम भएको १३ नम्बर वडा समूहले २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय आर्ट ग्रुप समूहले १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

खेल महोत्सवको दोस्रो दिन आज शुक्रबार बिहान ७ बजे हुप्रचौरमा फुटसल प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । शुक्रबारको दोस्रो खेलमा भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता दिउँसो २ बजे हुप्रचौरस्थित भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेल महोत्सवको अन्तिम दिन शनिबार महिला ‘७’ ए साइड फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगता बिहान ७ बजे हुप्रचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।