कम्पोष्ट मल बनाउन खाडलमा पत्कर जम्मा पारीदै ।

हेटौंडाः डिपाड सामुदायिक वन मनहरीले जगंलमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । सामुदायिक वनको लगानीमा सालको पत्कर संकलन गरेर कम्पोष्ट मल बनाउने कार्य सुरु भएको हो ।

सालको पत्करबाट कम्पोष्ट मल बनाउने कार्य सुरुवाती चरण रहेको राप्ती वनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । मल बानाउने काम पहिलो चरणको भएकाले परीक्षणको अवस्थामा रहेको उहाँको भनाई छ ।

सालको पत्करले वन डढेलो लाग्ने भएकाले वन डढेलोबाट बचाउन पनि पत्कर संकलन गरी कम्पोष्ट मल बनाउने उद्देश्य सामुदायिक वनले राखेको छ । खेर गएको पत्करको सदुपयोग हुने र मल बिक्री भई सामुदायिक वनको आर्थिक उन्नति पनि हुने आचार्यले बताउनुभयो । वन व्यवस्थापनको नीति नै बनाएर अगामी दिनमा अगाडि बढ्न सरकार तयार रहेको उहाँको भनाई छ । सरकारले सामुदायिक वनको कार्य राम्रो भएको जनाएको र मन्त्रालयले यस्ता वन संरक्षणको कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

डिपाड सामुदायिक वनले चारवटा खाडल बनाई कम्पोष्ट मल बनाउन सुरुवात गरेको भए पनि अहिले २ वटा खाडलमा परीक्षणको काम गर्दै आएको छ । मल बनाउने काम पहिलो चरणको भएकाले अन्यत्र जिल्लाहरुबाट सहयोग–सल्लाह माग गरी काम गर्दै आएको आचार्यको भनाई छ । मल बनाउने कार्य सफल हुँदै गएमा आगामी दिनमा मल बनाउने कार्यलाई बढावा दिँदै जाने उहाँको भनाई छ ।