हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गाई बस्तुमा देखिएको ‘लम्पी स्किन’ रोग बिरुद्धको खोप लगाउन सुरु गरेको छ । चैत्र महिनामा देखिएको रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि उपमहानगरपालिकाले खोप खरिद गरी लगाउन सुरु गरेको हो । खोप खरिद गरेसँगै हेटौंडा उपमहानगरपालिकाको ३ र १९ मा खोप लगाउने कार्य सकिएको छ ।
आइतबार दुई वडामा ‘लम्पी स्किन’ बिरुद्धको खोप लगाउने कार्य सकिएसँगै सोमबारबाट नगरका सबै वडाहरुमा पशुप्राबिधिकको सहयोगमा अभियानलाई अघि बढाइने हेटौँडा उपमहानगरपालिकाकी कृषि तथा पशु शाखा प्रमुख गंगा चौलागाईले बताउनुभएको छ । “पहिलो चरणमा १ हजा ५ सय खोप खरिद गरी वडामा रोगको संक्रमण दर हेरर वितरण गरेका छौं, अपुग भए पुनः खरिद गरी गाईबस्तुमा लगाउने कामलाई निरन्तरता दिन्छौं”, शाखा प्रमुख चौलागाईले भन्नुभयो ।
गत चैत्रमा नगर क्षेत्रको ७, ११, १२, १७ र १८ नम्बर वडामा किसानले पालेको गाई र भैसीमा ‘लम्पी स्किन’ रोगको संक्रमण फेला परेको थियो । रोगका कारण पशुको ह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने शाखाले जनाएको छ । रोगका कारण उपमहानगर क्षेत्रमा ७० वटा गाई भैसीको मृत्यु भएको छ भने करिब १ हजार ७ सय बिरामी रहेको बताइएको छ ।