हेटौंडाः सामान्यतः समाजका नकारात्मक घटनाले बालबालिकामा गम्भीर समस्या पर्ने बताइन्छ । अहिले विश्व समुदाय नै कोरोना भाइरसको संक्रमणको सन्त्रासमा छ । यसको कारण र समाधानका बारेमा संसारभरका वैज्ञानिकहरु लागीपरेका छन् । कोरोना भाइरसको उपयुक्त समाधान अझै पाइसकेको छैन । तर, हेटौंडामा विद्यालय तहका विद्यार्थीहरु साहित्यमार्फत कोरोनाबारे बुझ्न, बुझाउन लागी परेका छन् । विद्यालयका विद्यार्थी कोरोनाबारे बुझेर अरुलाई पनि बुझाउने प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविकी छात्रा इलिशा पराजुलीले रचना गर्नुभएको कविता जताततै छ सन्नाटा ।
जताततै सन्नाटा छ !
बाँचिरहेको छ
गाउँ, बस्ती, टोल, सिङ्गो देश
अनि पूरा विश्व
सन्त्रासमा
ज्वरोले निम्त्याएको दन्दनी आगोमा
बसिरहेका छन् जलेर
साइँला, माइला, भुन्टी, च्यान्टी
घरमा लालाबालालाई सम्झाई बुझाई
बस्दैछिन् आज पनि
साइँली जसोतसो
जताततै सन्नाटाको तुवाँलेभित्र ।
कोरोनालेको भन्दा भोकमरीको रापले
सताइरहेको छ
ज्यालादारी मजदुरहरुलाई
मुसाहरु भ्याइनभ्याई दगुरीरहेका छन्
दुखी गरिबका पेटमा
बाँकी जताततै सन्नाटा छ।
जीवन्त राख्न मान्छेको सम्बन्ध,
सृजना गरिएको
सामाजिक सन्जाल आज
बनेको छ देखावटीको माध्यम
सन्जाल भरी राहत वितरणको तस्बिरहरुको
लर्को छ
छ त अर्को लर्को भागवण्डाको
बाँकी जताततै सन्नाटा छ।
एकै हौं मानिस आखिर,
यस बिपत्तीको समयमा धारण गरेका छन्
भगवानको रुप कोहीले
बाँकी छत केवल
मानव आकृति मात्र
उता
रोडिजको अडिसन लिदै छ
प्रहरी सडकमा
प्रतिस्पर्धीको दुर्भाग्य अनि मनमा
खलबली छ
बाँकी जताततै सन्नाटा छ।
लागीपरेका छन् आफ्नो ज्यान बाजीमै राखेर
बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरु
अस्पतालमा बिरामीको झ्याउँझ्याउँ छ
बाँकी जताततै सन्नाटा छ।
दिनचर्या व्यस्त छ,
चाहे देश बनाउन होस् या
जनतालाई सुरक्षित महशुस गराउन
अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको
यता घरमै बसेर वचनको तिर फ्याक्नेहरुको
बिगबिगी छ
बाँकी जताततै सन्नाटा छ।