हेटौंडाः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मामार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाइएको हो ।
राप्रपा मकवानपुरका उपाध्यक्ष कबिन्द्र राज भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । ‘देशको अन्तराष्ट्रिय छवि नै धुमिल गराउने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रूपमा राज्यशक्तिको दुरुपयोग भएको यो प्रकरणले सारा नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शीर निहुर्याउनु पर्ने परिस्थिति सिर्जना भएको छ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा संलग्न जुनसुकै तहका नेतृत्वलाई कुनै बहानामा पनि छुट नदिन भनिएको छ ।
तत्कालिन गृहमन्त्री र बहालवाला सचिवको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समय क्रमसँगै सेलाएर गएको जनाएको छ । ‘अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा भनिएको छ । राप्रपा छानविनमा निर्दोष कोही नपरुन र दोषी कोही नछुटुन भन्ने चाहेको र विगतका ठूलठूला भ्रष्टाचार काण्डका फाइलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गर्न भनिएको छ ।











