क्याम्पस सञ्चालक समितिका सदस्य अशोक शाक्यको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको स्वास्थ्य सेवा इकाईमा क्याम्पसमै अध्ययनरत विद्यार्थीले सेवा प्रदान गर्न सुरु गर्नुभएको छ । क्याम्पसले विद्यार्थीलाई इन्टर्नको रुपमा नियुक्त गरेको छ । यसअघि क्याम्पसकै प्राध्यापकबाट आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्याम्पसले बिहीबारदेखि भने शिक्षाशास्त्र संकायतर्फ स्नातक तह अध्ययनरत अनमी सेन्जी धिताललाई स्वास्थ्य इकाईको जिम्मेवारी दिएको हो ।

बिहीबार बिहान क्याम्पस सञ्चालक समितिका सदस्य अशोक शाक्यको उपस्थितिमा नवनियुक्त धितालले स्वास्थ्य परीक्षण गरेर सेवा प्रदान गर्न सुरु गर्नुभएको हो । धितालले बिहानको समयमा नियमित सेवा प्रदान गर्नुहुने छ भने दिउँसो आवश्यकताअनुसार बोलाएर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य इकाईमा पदस्थापन गरिएको अवसरमा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायसहित प्राध्यापकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । मकवानपुर बहुमुखी क्याम्पसमा ५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी तथा प्राध्यापक, कर्मचारीको आकस्मिक स्वास्थ्य समस्या देखा पर्दा प्राथमिक उपचार गर्न सम्भव होस् भनेर स्वास्थ्य इकाईको व्यवस्थापन गरिएको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले बताउनुभएको छ ।