हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिका वडा नम्बर ४ र ५ का ५० घरधुरीलाई निशुल्क सुधारिएको चुलो वितरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो ।
मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट र वडा अध्यक्ष नारायण लामाले स्थानीयहरुलाई चुलो हस्तान्तरण गर्नुभएको हो । चुलो हस्तान्तरण गर्नुहुँदै थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र ईन्धनको समेत बचत गराउने सुधारिएकोे चुलो वितरण कार्यक्रमलाई नगरपालिकाभर बिस्तार गर्न च्वाईस नेपाललाई आग्रह गर्नुभयो । सुधारिएको चुलो वितरण गर्न सहयोग गरेकोमा च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गर्दै वडाका बाँकी घरधुरीहरुमा पनि सुधारिएको चुलो वितरणका लागि सहयोग गर्न थाहा नगरपाकिा वडा नम्बर ४ का अध्यक्ष नारायण लामाले च्वाईस नेपाललाई अनुरोध गर्नुभयो ।
नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोका लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालको वातावरण सुधार कार्यक्रम अन्तर्गत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताउनुभयो । नेपालको १५०० मिटर भन्दा माथि बसोबास गर्ने परिवारलाई विभिन्न संघ संस्थासंगको सहकार्यमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ३३ प्रतिशत अनुदानमा करिव १२ हजार मूल्य बराबरको सुधारिएको चुलो वितरण गर्दै आएको छ । दाउरा कम खपत हुने, धुँवाधुलोरहित चुलो निशुल्क प्राप्त भएकोमा थाहा ४ का सीताराम लामाले थाहा नगरपालिका र च्वाईस नेपाललाई धन्यवाद दिनुभयो ।











