हेटौंडाः हेटौंडा–७ स्थित सि आशा फाउण्डेसनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्र स्थापना भएको एक दशक भएको छ । स्पेनिस नागरिक आइना वार्काको अग्रसरतामा स्थापित आशा विशेष पाठशालामा फरक क्षमता भएका ५५ जना विद्यार्थी अध्ययनरत छन् । फरक क्षमता भएकाले विशेष पाठशालाको आवश्यकता भएका हेटौंडा नगर क्षेत्रका १ सय ८० बालबालिका भर्ना हुने आशामा छन् । तर, आशा विशेष पाठशालासँग ती विद्यार्थीलाई भर्ना गर्न सक्ने अवस्था छैन ।

शनिबार पाठशालाको अभिभावक भेलामा विद्यालयकी प्रधानाध्यापक रुपा कार्कीले विशेष बौद्धिक तथा शारीरिक रुपमा भिन्न क्षमता भएका बालबालिकाको शारीरिक, बौद्धिक र सामाजिक जीवनलाई सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । पाठशालाले महिला, पिछडिएका वर्गहरुलाई विशेष शिक्षा, पूर्व व्यावसायिक शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम, आधारभूत आवश्यकता, प्रेरणा, परामर्श प्रदान गर्दै आएको जानकारी दिनुभएको छ । २०७१ सालमा स्थापना भएको पाठशालामा सुस्त मनस्थिति भएका १४ जना, स्नायूघात भएका १० जना, हाइड्रोसेफलस भएका २ जना, हाइपोथेराडिज्म भएका २ जना, अटिजम भएका १९ जना र डाउन सिन्ड्रोम भएको ८ जना विद्यार्थी रहेको जानकारी दिनुभएको छ ।

भेलालाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले कमजोर भएकालाई सुधार गर्ने उद्देश्यले स्थापना भएको संस्थाको उद्देश्य राम्रो भएको बताउनुभयो । धार्मिक हिसावले हेर्ने हो भने पनि पूण्यको काम भएको बताउनुहुँदै विशेष क्षमता भएकाको लागि ठुलो योगदान पुगेको उहाँको भनाइ रहेको छ । मकवानपुरमा अशक्त असहायका लागि मानवसेवा आश्रम भएकोमा गर्व गर्न योग्य रहेको बताउनुहुँदै फरक क्षमता भएकाहरुसँग पनि एक किसिमको प्रतिभा हुने भएकाले उनिहरुको प्रतिभा फाउण्डेसनले उजागर गरेको बताउनुभयो । फाउण्डेसन व्यवस्थित गर्न सम्पूर्ण पक्षसँग आफुले छलफल गरेको प्रमुख घलान बताउनुहुन्छ ।

पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्य तथा सि आशा फाउण्डेशनका संस्थापक तथा आशा विशेष पाठशालाका संस्थापक आईना वार्काको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले नृत्य र विशेष क्षमता भएका विद्यार्थीहरुले आफैले बनाएका चित्र, उनिको टोपी, गलबन्दी, पोते लागायतका सामग्री प्रदर्शन गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीमा छात्र ४ जना र ७ जना छात्रा गरी ११ जना आवासगृहमा बसोबास गर्दै आएका छन् । विद्यालयमा १६ जना शिक्षक छन् ।