हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त स्वास्थ्य सम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको जाँच, जनरल स्वास्थ्य परीक्षण, गर्भवती महिलाको भिडियो एक्सरे सेवालगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा कैलाश अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सन्तोष शाह, हेटौंडाबाट लगिएको दन्त स्वास्थ्य विशेषज्ञ मोहम्मत करिम आलमलगायत स्वास्थ्य टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा आरती फार्मेसी हेटौंडाले दन्तरोग विशेषज्ञसहित औषधि सहयोग गरेको थियो ।
कैलाश गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष छेकु लामाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्य रहेको थियो । शिविर उद्घाटनमा बोल्दै अध्यक्ष मुक्तानले विकट गाउँमा रहेका स्थानीयलाई गाउँघरमै उपचार सेवा प्रदान गर्न शिविरको आयोजना गरिएको बताउनुभयो । सामान्य स्वास्थ्य समस्या हुँदा पनि धेरै खर्च गरेर हेटौंडा वा पालुङको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविरको आयोजना गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले चालु वर्षको साविकको गाविस केन्द्रको ४ स्थानमा शिविरको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख जगन्नाथ शाहले जानकारी दिनुभएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गोगने स्वास्थ्य चौकी प्रमुख सुनिता कुमारी गोलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।