हेटौंडाः प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३, भैँसेपाटीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुढाथोकी घाईते भएका थिए । घाईते बुढाथोकीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान ३ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–७, सित्खामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सित्खा बस्ने ६९ वर्षीय गंगा पाण्डे रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ४ बजेको समयमा चरिकोटबाट सिंगटी जाँदै गरेको ना ७ ख ६९१३ नम्बरको ट्रकले ठक्कर दिँदा पाण्डे गम्भीर घाईते भएका थिए । घाईते पाण्डेलाई उपचारका लागि च्छो–रोल्पा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७, फिटिङ पुलमा सवारी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । सोमबार विहान ६ बजेको समयमा सर्लाहीबाट सिन्धुली जाँदै गरेको बा प्र ०२–०३० प ७१०३ नम्बरको मोटरसाईकल र विपरीत दिशामा जाँदै गरेको बा प्र ०३–००१ ख १००६ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही जिल्ला कविलाशी नगरपालिका–९ बस्ने २२ वर्षीय निशान्त कुमार राय मध्यम घाइते भएको र पछाडी सवार सर्लाही नगरपालिका–२, बस्ने ४५ वर्षीय बिनोद कुमार राय सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।