हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका विभिन्न होटल तथा व्यवसायमा बालश्रम प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सोमबार राष्ट्रिय बाल संरक्षण संजाल, बाल कल्याण समाज मकवानपुर तथा बकैया गाउँपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले खाजा खाने बाहाना गरेर हात्तिसुढे क्षेत्रका होटलहरुमा हुन सक्ने बालश्रमको बारेमा अनुगमन गर्नुका साथै सचेत गराएको छ । बालमैत्री पालिका घोषणापछि पनि धेरै स्थानमा अनुगमन गर्नुका साथै बाल सहजकर्ता मार्फत बालबालिकाका विषयमा जानकारी लिने गरेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । गाउँपालिका क्षेत्रका होटल तथा खाजाघरमा बालश्रम प्रयोग न्यून रहे तापनि प्रायः ट्याक्टर तथा अन्य ढुवानी सेवाको क्षेत्रमा काम बालकको प्रयोग अझै भइरहेको अध्यक्ष लामिछानेको भनाइ रहेको छ ।
अनुगमनको क्रममा राष्ट्रिय बाल संरक्षण संजाल एवम् बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले व्यवसायीहरुलाई १४ वर्षभन्दा मूनिका बालबालिकालाई श्रममा नराख्न अनुरोध गरिएको बताउनुभयो । बालश्रम अन्त्य होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताउँदै बालबालिकालाई श्रममा राखिएको पाइएमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने समेत अध्यक्ष खतिवडाको भनाइ छ । बकैया–४, हात्तिसुढे क्षेत्रमा रहेका ८ वटा होटल तथा खाजाघरहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग नगरौं, नगराऔं र शिक्षामा जोड दिऔं भन्ने सन्देश दिएको थियो । अनुगमनलाई नियमित रुपमा गाउँपालिकाले लैजाने गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताउनुभएको छ । अनुगमनमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, कार्यपालिका सदस्य लक्ष्मी माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, महिला बालबालिका इकाई प्रमुख होम कुमारी सन्जेलको सहभागिता रहेको थियो ।