गुगल तस्विर ।

हेटौंडाः सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भिरबाट लडेर २ वर्षीया बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौँबाट सन्धुलीतर्फ आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट २० मिटर तल खस्दा कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा झापा जिल्ला चारपाने–५ बस्ने कार चालक ४३ वर्षीय कुमार पुरी र सिन्धुली कपिलाकोट–३ घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँ रहेको प्रहरीले जनाएको छ । कारमा सवार प्युठान नगरपालिका–८ बस्ने ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । घाईते थापाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका–२ बन्चरेमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सोहि स्थान बस्ने राम बहादुर पहरीको छोरी २ वर्षीया आकांक्षा पहरी भिरबाट लडेर मृत्यु भएको छ । शनिबार बेलुका ७ बजेको समयमा बालिका भिरबाट लडी गम्भिर घाईते भएकी थिईन । घाईते पहरीलाई उपचारको लागि एनएमसी अस्पताल बीरगंज लगिएकोमा उपचारको क्रममा १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।