विद्यालय बस उद्घाटन गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको ६२ औं अभिभावक भेला सम्पन्न भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलाकै अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा १२ सम्म पठन–पाठन हुन्छ । यस्तै विद्यालयले खाद्य तथा प्रविधि विषय पठनपाठन गर्दै आएको छ । अभिभावक भेलाको अवसरमा विद्यालयले हालै खरिद गरेको बसको पनि मन्त्री मोक्तानले उद्घाटन गर्नुभएको छ । अभिभावक भेलामा जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, बागमती प्रदेशको शिक्षा निर्देशनालयका निर्देशक पूर्ण बहादुर दर्जी, वडा अध्यक्ष जुना दाहालको पनि उपस्थिति रहेको थियो ।