Home मुख्य समाचार पाठ्यपुस्तक तयारी छः जनक शिक्षा

पाठ्यपुस्तक तयारी छः जनक शिक्षा

हेटौंडाः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रदेश कार्यालय, भरतपुर चितवनले शैक्षिक सत्रका लागि चाहिने सम्पुर्ण पाठ्यपुस्तक तयार रहेको जानकारी दिएको छ । केन्द्रले मकवानपुर, बारा, पर्सा, रौतहट, नवलपरासी र चितवनमा पुस्तक वितरण गर्दछ ।

कोरोना महामारीको कारण देशमा भैरहेको लकडाउनले गर्दा चितवन बाहेक अन्य ५ वटा जिल्लाका विक्रेताहरुले पाठ्यपुस्तक खरिद गर्न ढिलाई गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रदेश कार्यालयका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट संस्थागत विद्यालयको पाठ्यपुस्तक धेरै गैसकेको र सामुदायिकको भने अर्डर नै नआएको बताउनुभयो । यता मकवानपुरका व्यवसायीले भने जनशिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध नगराएको भन्दै जिल्लामा पुस्तक नआएको बताएका थिए ।

केन्द्र प्रमुख श्रेष्ठले चितवन जिल्लामा लगभग पाठ्यपुस्तक गैसकेको र नवलपरासीमा लाने क्रम सुरु भएको बताउनुभएको छ । विभिन्न जिल्लाहरुबाट जनक शिक्षा सामग्री केन्द्र चितवनमा पाठ्यपुस्तक नभएको गलत समाचार आएको भन्दै ६ वटै जिल्लालाई पुग्ने सम्पुर्ण पुस्तक केन्द्रमा भएको जिकिर गर्नुभयो । मकवानपुरका कालिका, स्मारिका लगायत ८ वटा पुस्तक विक्रेताहरुले दर्ता गराइसकेको र १÷२ दिनमा पुस्तक पठाइने उहाँले बताउनुभयो । पुस्तक वितरणमा सामाजिक दुरि कायम राख्न, भिडभाड हुन नदिन, अनलाइन मार्फत म्यासेन्जर, भाइबर लगायतबाट अर्डर गर्ने बिल बनाउने र रकम केन्द्रको खातामा जम्मा गरेर पुस्तक पठाइरहेको उहाँले बताउनुभयो ।

विक्रेताहरुले केन्द्रमा पुस्तक अभाव भएको आरोपलाई चिर्दै केन्द्र प्रमुख श्रेष्ठले सम्पुर्ण पुस्तक तयार रहेको र विक्रेताहरुलाई लकडाउनले गर्दा पुस्तक लैजान असहज भएको प्रष्ट पार्नुभयो । गत शैक्षिक सत्रसम्म कक्षा १ देखि कक्षा ५ सम्मको पुस्तक रंगीन थियो । यो शैक्षिक सत्रबाट कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यपुस्तक रंगीन छापिएको छ । जनक शिक्षा सामग्री केन्द्रले वितरण गर्ने कक्षा २ देखि १० सम्मकै पाठ्यपुस्तक तयारी अवस्थामा रहेको श्रेष्ठले बताउनुभयो ।

Exit mobile version