हेटौंडाः हास्यव्यंग्य साहित्यलाई प्रवद्र्धन गर्ने संस्था सिस्नुपानी नेपाल मकवानपुरले सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा खुला हास्यव्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैशाख २२ गते हुने प्रतियोगिताका लागि बैशाख १८ गतेसम्म कविता पठाउन सकिने सिस्नुपानीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को विशेष प्रवद्र्धनमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा देशभरका कविहरूले भाग लिन सक्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भएको छ ।
समाजमा हुने गरेका विकृति र विसंगतीविरुद्ध साहित्य सिर्जनामार्फत् सुधारका लागि दबाब दिन सकिने उन्नत समाज स्थापनातर्फ सदैव जोड गर्नका लागि हास्यव्यंग्य साहित्यको उल्लेख्य भूमिका रहेकोले यसको उन्नयन गर्ने उद्देश्य रहेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले बताउनु भएको छ ।
प्रतियोगितामा कविता २५० शब्दभित्र रहने गरी तथा अन्य अप्रकाशित हास्यव्यंग्य रचना मात्रै समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने कवितालाई नगद १५ हजार रुपैयाँ, द्वितीय हुने कवितालाई १० हजार रुपैयाँ, तृतीय हुने कवितालाई ५ हजार रुपैयाँ तथा सान्त्वना २ जनालाई ३/३ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । सिस्नुपानी मकवानपुरले आफ्नो स्थापना दिवस, भैरव जयन्ति, गाइजात्रा लगायतका आफ्नै घोषित कार्यक्रम र विभिन्न संस्थाहरूका साहित्यिक कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाइरहेको छ ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले उपत्यकाबाहिर सिस्नुपानी नेपालको एक मात्र प्रभावशाली शाखाको रुपमा मकवानपुर शाखा रहेको उल्लेख गर्नुहुँदै हास्यव्यंग्य साहित्यको विकास र प्रवद्र्धनका लागि पुरस्कार स्थापनादेखि निरन्तर अनेक कार्यक्रमहरू आयोजना गर्दै आएको र हाल आकर्षक नगद पुरस्कारसहित राष्ट्रव्यापी हास्यव्यंग्य कविता प्रतियोगिता आयोजना गरेर थप उचाइ प्राप्त गरेको उल्लेख गर्नुभयो । हास्यव्यंग्यमा पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षण गर्नमा सिस्नुपानी मकवानपुरको अनुकरणीय योगदान रहँदै आएको अध्यक्ष गाम्नागेको भनाइ छ ।
अग्रज हास्यव्यंग्यकार आरसी रिजालले हास्यव्यंग्य कविता प्रतियोगिताले संस्थाको गरिमा अझ बढ्ने तथा धेरै सर्जकहरूले हास्यव्यंग्य लेखनमा सक्रिय रहिरहनु भएको अवस्थामा यस्ता कार्यक्रम निकै रुचाइने बताउनु भयो । हास्यव्यंग्यकार रिजालले सहयोग प्रदान गर्नु भएको घडेरीमा २०५५ सालमा स्थापना भएको सिस्नुपानी मकवानपुर तथा साहित्य संगम मकवानपुरको संयुक्त भवन समेत रहेको छ ।