हेटौंडा आसपासका जंगलमा हिंस्रक वन्यजन्तुको आगमनले जनजीवन त्रसित बन्ने गरेको छ । जंगलमा बाघ, गैंडा तथा हात्तीजस्ता ठूला र हिंस्रक वन्यजन्तुको संख्या बढ्दै जाँदा जंगल आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको हो । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जसमेत नजिकै रहेका कारण हेटौंडा आसपासका जंगलमा पछिल्लो समय बागको बसोबास तथा आवतजावत बढ्दै गएको छ । जंगलमा घाँस, दाउरा तथा पशु चराउन गएका स्थानीयलाई बाघ तथा हात्तीले आक्रमण गर्ने क्रम पनि बढेको छ । पछिल्लो केही महिनायता बाघ र हात्तीको आक्रमणबाट केहीको ज्यान गुमाएका छन् भने केही घाइते भएका छन् । यस्तै, बाघले घरपालुवा जनावरलाई मार्ने र आक्रमण गर्ने क्रम पनि चलिरहेको छ ।


गत बुधबार पनि बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । हेटौंडा–१५ स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका दुईजनालाई बाघले आक्रमण गरी घाइते बनाएको छ । बिहान सवा आठ बजेतिर वनमा बाख्रा चराउन गएका स्थानीय ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाघको आक्रमणबाट थिङको घाँटीमा गहिरो चोट लागेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बायाँ भाग र छातीमा बाघले टोकेकाले उनको पनि हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । करिब एक महिनाअघि हेटौंडा–१८, हर्नामाडीमा एक महिलालाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । त्यसअघि हेटौंडा–१ को लालझाडीमा बाघले गोठमा बाँधिराखेको एउटा बाछो मारेको थियो । हेटौंडा–१ कै भैरबडाँडामा बाघले एउटा खसी र एउटा बाख्रा पनि मारेको थियो । त्यसबेला भैरबडाँडाको वन क्षेत्रमा क्यामरा राखेर बाघलाई ट्रयापिङ गर्न खोजिए पनि बाघ फेला पार्न सकिएको थिएन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र केही सामुदायिक सामुदायिक वन क्षेत्र नजिकका मानव बस्तीमा बाघलगायत वन्यजन्तुको आगमन बढेपछि स्थानीय त्रसित बन्नुपर्ने अवस्था आएको छ ।


वन्यजन्तु संरक्षणमा देखिएको सफलतासँगै तिनका प्राकृतिक बासस्थान तथा आहाराको अभाव हुँदा वन्यजन्तुका विचलन बढ्न थालेको छ । सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको विचलन बढ्दै गएका कारण मानव जीवनसमेत कष्टकर बन्न थालेको छ । संरक्षित वन क्षेत्र तथा सामुदायिक वनबाट नजिकका गाउँबस्तीमा जंगली जनावर आउने क्रम बढ्दा ती वन्यजन्तुले पु¥याउने क्षति पनि बढिरहेको छ । वन्यजन्तुले मानिसले लगाएको बाली नष्ट गर्नेदेखि मानिस तथा अन्य जनावरलाई आक्रमण गर्ने र भौतिक संरचनामा क्षति पु¥याउने गरेको पाइन्छ । केही महिनाअघि मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा जंगली हात्तीले आतंकित बनाएको थियो । एक साताको अवधिमै जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । मकवानपुरको बकैया गाउँपालिकाको पावस, मनहरी गाउँपालिकाको मसिनेमा हात्तीको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको थियो भने हेटौंडा उपमहानगरपालिकाको हर्नामाडीमा एक जना घाइते भएका थिए ।


दुर्लभ र संरक्षित वन्यजन्तुको संख्या वृद्धि हुनु सुखद् पक्ष हो । वन्यजन्तुको संरक्षणले जैविक विविधताको संरक्षणसँगै धेरै पक्षमा सकारात्मक प्रभाव पर्दछ । तर वन्यजन्तुको संख्या बढ्दै जाँदा त्यसको उचित व्यवस्थापन नहुने हो भने मानवीय क्रियाकलापमा असहजता उत्पन्न हुन्छ । उचित बासस्थान र आहाराको अभाव भएमा वन्यजन्तु मानव बस्तीमा आउँछन् । यस्ता वन्यजन्तुले कृषि बाली नष्ट गर्ने, घर–गोठ भत्काउने, मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गरी मार्ने र घाइते बनाउँछन् । यसले मानिस र वन्यजन्तुबीच द्वन्द्वको अवस्था सृजना हुन्छ । मानिस र वन्यजन्तुबीचको द्वन्द्वलाई समयमै नियन्त्रण तथा व्यवस्थापन गर्न सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक छ ।