सापकोटालाई प्रदेश सञ्चार रजिष्ट्रारको नियुक्तिपत्र हस्तान्तरण गर्नुहुँदै सचिव ध्रुब गैँडा ।

हेटौंडाः बागमती प्रदेश सरकारमातहतको प्रदेश सञ्चार रजिष्ट्रारमा रेवती सापकोटा दोस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । पहिलो कार्यकाल पूरा गर्नुभएका सापकोटालाई गत चैत २८ गते प्रदेश सरकारले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश सन्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो । आइतबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूम मन्त्री गंगानारायण श्रेष्ठले रजिष्ट्रारमा नियुक्त सापकोटालाई सपथ गराउनुभयो । सपथग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिब ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गर्नुभयो ।

सापकोटाको पहिलो कार्यकाल उल्लेखनीय रह्यो । सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यमसम्बन्धी आवश्यक नियम, निर्देशिका तयार पार्ने कार्य उल्लेखनीय रह्यो । अहिले रजिष्ट्रारको कार्यालयबाट ८ सय ५० जना पत्रकारले परिचयपत्र प्राप्त गरेका छन् । १ सय ८४ वटा अनलाइन, ९५ वटा रेडियो, ३७ वटा टेलिभिजन रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन् भने सञ्चार तथा पत्रकारितासम्बन्धी ६ वटा पुस्तक रजिष्ट्रारको कार्यालयले प्रकाशन गरिसकेको छ ।

सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यममा आवद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरुका लागि क्षमता विकास, पुनर्ताजगी एवम् अभिमुखीकरणका कार्यक्रमहरु भएका छन् । ३ सय भन्दा बढी पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरु लाभान्वित भएका छन् । पहिलो कार्यकालको तुलना दोस्रो कार्यकालमा रजिष्ट्रारको कार्यक्षेत्र विस्तार भएकोले जिम्मेवारीसँगै पहिलो कार्यकालको अनुभवबाट आगामी दिनमा सञ्चार क्षेत्रको गुणस्तरीय विकासमा सक्दो राम्रो काम गर्ने सापकोटाले बताउनुभएको छ ।