छात्रावास उद्घाटनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको मनहरी–८, सिमपानीमा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालयको सुविधासम्पन्न छात्रावासको आइतबार उद्घाटन गरिएको छ । २०७५ साल चैत्र २० गतेदेखि निर्माण सुरु गरिएको छात्रावास ४ वर्षपछि निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

फाउन्डेसन दक्षिण कोरियाका अध्यक्ष डा. जोङ टिकेको व्यक्तिगत सहयोगमा बनेको उक्त छात्रावास निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो । गरिब परिवारमा जन्मे पनि आमाबाबुले शिक्षाको महत्व आफूप्रति दर्साएका कारण विपन्न विद्यार्थीका लागि छात्रावास निर्माण गरेर हस्तान्तरण गरेको डा. टिकेले बताउनुभयो । मानिसका लागि शिक्षा ठूलो सम्पत्ति रहेको बताउनुहुँदै उहाँले शिक्षामा केही योगदान गर्ने उद्देश्यले आमाको स्मृतिमा छात्रावास निर्माण गरेको जानकारी दिनुभयो ।

आगामी दिनमा उक्त छात्रावास उदाहरणीयरुपमा परिचित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीले देखेको सपनालाई साकार पार्दै अध्ययनलाई प्रतिस्पर्धात्मक बनाउन उहाँले आग्रह गर्नुभयो । आफूले निर्माण गरिदिएको छात्रावास विद्यार्थीका लागि भाग्य जोड्ने पहिलो घर बनोस् भन्ने कामना उहाँले गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक शिवबहादुर रिमालले शैक्षिक उन्नतिका लागि आवासीय छात्रावासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समाजसेवी सिद्धिलाल श्रेष्ठले आफू अध्ययन गरेको स्कूलमा सुविधासम्पन्न छात्रावास निर्माण गराउन पहल गर्नु खुसीको विषय भएको बताउनुभयो । भवन निर्माण भएसँगै अध्ययनका लागि विद्यार्थीलाई सहयोग मिल्ने उहाँले बताउनुभयो । विगतमा आफ्ना बाबुको सक्रियतामा निर्माण भएको कर्कटले छाएको छात्रावासको सम्झना गर्दै अहिले सुविधासम्पन्न छात्रावास निर्माणका लागि समन्वय गर्ने मौका मिलेको उहाँको भनाई छ ।

फाउन्डेसनले नेपालमा उक्त छात्रावाससहित १२ वटा छात्रावास निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । महेन्द्रकिरण माध्यमिक विद्यालयमा एक हजार एक सय ७२ जना विद्यार्थी अध्ययनरत् छन् । नवनिर्मित सुविधासम्पन्न छात्रावास भवनमा ४० जना छात्र र ४० जना छात्रा गरी ८० जनाको क्षमता रहेको छ । १ करोड बराबरको लगानीमा निर्मित भवन सञ्चालनपश्चात् टाढा–टाढाबाट पढ्न आउने विद्यार्थीलाई सहज हुनेछ । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कलाखेतीको विशिष्ट आतिथ्य रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेती, भवन निर्माण समिति संयोजक सौगन लामालगायतको उपस्थिति थियो ।