हेटौंडाः शुक्रबार र शनिबार काठमाडौंमा भएको पब्लिक क्याम्पस संघको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार संघीय सरकारको शिक्षामन्त्री अशोक राईले उद्घाटन गर्नुभएको अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि काठमाडौंको नैकापस्थित काठमाडौं शिक्षा क्याम्पसका प्रमुख सत्रुधन प्रसाद गुप्ताको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । भेलामा सामुदायिक क्याम्पसका सञ्चालक तथा प्राध्यापकको सहभागिता रहेको थियो ।
समितिको कोषाध्यक्षमा मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ भने मकवानपुर बहुमुखी क्याम्पसका केशव तिमल्सिना र हेटौंडा क्याम्पसका भुपेन्द्र कोइराला केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएको छ । देशभरका ५ सय भन्दा बढी सामुदायिक क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको अधिवेशनको उद्घाटन कार्यक्रममा सामुदायिक क्याम्पसमा कार्यरत रही विद्यावारिधी र एमफिल उपाधि हासिल गर्ने प्राध्यापकहरुलाई सम्मान गरिएको थियो । एमफिल र विद्यावारिधी उपाधि हासिल गर्ने मकवानपुर जिल्लाका विभिन्न क्याम्पसका प्राध्यापकहरु पनि सम्मानित हुनुभएको छ ।
