Home मुख्य समाचार विश्वास बढाउँदै बोर्ड

विश्वास बढाउँदै बोर्ड

हाम्रो देशलाई जलस्रोतको दोस्रो धनी देश भन्ने गरिन्छ । जलस्रोतमा धनी भएको आधारमा कमसेकम खानेपानीको सहज उपलब्धता हुनुपर्ने हो । तर, सबै नागरिकले सहज र स्वच्छ खानेपानीको सुविधासमेत पाएका छैनन् । जनघनत्व बढी भएका शहरी क्षेत्रमा खानेपानी सुविधा सहज भए पनि पर्याप्त छैन भने छरिएर रहेका विकट ग्रामीण बस्तीमा खानेपानी सुविधा पु¥याउनै कठिन बनिरहेको छ । आधारभूत आवश्यकताको रुपमा लिइने खानेपानीको उपयुक्त व्यवस्थापनका आधारमा एकजना व्यक्तिलाइ एक दिनमा करिब ४५ लिटर पानी उपलब्ध हुनुपर्छ । एक सय मिटरको दूरीभित्र धारा हुनुपर्छ । सञ्चालनमा रहेका अधिकांश खानेपानी आयोजनाको आपूर्ति र वितरण प्रणालीसमेत प्रभावकारी नभएको अवस्थामा हेटौंडामा भने खानेपानीको उपलब्धता सहज नै देखिन्छ । हेटौंडाको शहरी क्षेत्रमा खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पर्याप्त खानेपानी वितरण गरिरहेकै कारण विश्वास आर्जन गर्दै गएको दावी गरेको छ ।

तत्कालीन नेपाल खानेपानी संस्थानको स्वामित्वमा रहेको हेटौंडाको खानेपानी आपूर्ति र वितरणको जिम्मा बोर्डलाई दिइएको हो । संस्थान हुँदा खानेपानीको वितरण प्रभावकारी नभएकै कारण सास्ती भोगेका आम उपभोक्ता बोर्डको सेवा, सुविधाप्रति खासै असन्तुष्ट छैनन् । बोर्डको सेवा सुविधा प्रभावकारी बन्दै गएपछि उपभोक्ताले खानेपानीको महसुलसमेत अग्रिम भुक्तानी गर्न थालेका छन् । बोर्डले अग्रिम भुक्तानी गर्नेलाई बिलिङ रकमको ५ प्रतिशत छुट दिने गरेको कारण पनि अग्रिम भुक्तानीको क्रम बढ्दै गएको हुनसक्छ । गत आर्थिक वर्षको अन्त्यमा बोर्डलाई खानेपानी महशुलबापत अग्रिम भुक्तानी गरेको रकम ६८ लाख रहेकोमा अहिले बढेर ७० लाख रुपैयाँ पुगेको छ । बोर्डले आफ्नो सेवा र सुविधासँगै सेवाक्षेत्रसमेत विस्तार गर्दै लगेको छ । हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा रहेका उपभोक्ता समितिमार्फत् सञ्चालन भइरहेका खानेपानी आयोजनाहरु धमाधम बोर्डको मातहतमा आउने क्रम बढ्दै गएपछि बोर्डको सेवाक्षेत्र विस्तार हुँदै गएको हो ।

तत्कालीन हेटौंडा नगरपालिकाको १ देखि ५ र १० नम्बर वडामा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको दायित्व २०७० जेठ ८ गते बोर्डमा हस्तान्तरण भएको हो । बोर्डले अहिले सेवाक्षेत्र विस्तार गर्दै हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ देखि १० को सबै भूभागका साथै वडा नं. १, १४, १५, १६ र १७ का केही भूभागमा समेत सेवा प्रदान गरिरहेको छ । बोर्डले २३ हजार धारामार्फत् मासिक करिब एक करोड रुपैयाँ महशुल उठाउने गरेको छ । बोर्डले अहिले दैनिक १ करोड ८५ लाख लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको छ भने बक्यौता महशुल न्यून रहेको छ । चालु आर्थिक वर्षमा बोर्डले ७ सय ९१ वटा नयाँ धारा जडान गरेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भूमिगत पानीको स्रोत परिचालन गरी पर्याप्त मात्रामा पानी आपूर्ति तथा वितरण गर्दै आएको छ । बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै खानेपानीको बढ्दो मागलाई बोर्डले अहिलेसम्म सहज व्यवस्थापन गरिरहेको छ । मानव जीवनको स्वस्थता र सहजताका खानेपानी एउटा महत्वपूर्ण आवश्यकता हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले विस्तार गर्दै गएको सेवाक्षेत्रसँग उपभोक्तालाई खानेपानीको वितरण सहज बनाउँदै लगेका कारण बोर्डप्रति कायम गरेको विश्वासलाई कायम गर्नु मुख्य चुनौती देखिएको छ । यो चुनौतीलाई सामना गर्न आगामी दिनमा बोर्डले खानेपानीको सहज आपूर्तिका लागि खानेपानीको नयाँ स्रोतहरु पहिचान र विकास गर्नु आवश्यक छ । प्रदेश राजधानी भइसकेपछि हेटौंडामा बढ्दै गएको जनघनत्वलाई धान्ने गरी खानेपानी आपूर्ति वृद्धि गर्दै गएर सेवाग्राहीको विश्वास बढाउनेतर्फ बोर्डले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Exit mobile version