हेटौंडाः भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कूलले हेटौंडामा आफ्नो प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । नेपालकै महंगो विद्यालयको रुपमा चर्चामा रहेको अर्बपति विनोद चौधरीको कम्पनि चौधरी ग्रुपको काठमाडौं वल्र्ड स्कूलले यही चैत १७ गते शुक्रबार बिहान हेटौंडाको एभोकाडो होटेलमा अभिभावक र सरोकारवालासँग प्रवद्र्धनात्मक प्रस्तुती राख्ने तयारी गरेको छ ।

आगामी शैक्षिक सत्रलाई लक्षित गरी देशव्यापी प्रवद्र्धनात्मक कार्यक्रम गर्ने क्रममा काठमाडौं वल्र्ड स्कूलका अध्यक्ष डा. मिथिलेश कुमार झा र प्रिन्सीपल केशर बहादुर खुलालले हेटौंडा आएर विद्यालयको विषयमा जानकारी गराउनुका साथै अभिभावक र सरोकारवालासँग अन्तरक्रिया गर्नुहुनेछ । काठमाडौं वल्र्ड स्कूलले पहिलो पटक हेटौंडामा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको हो । प्रदेशको राजधानी भएकोले पनि हेटौंडामा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको स्कूल व्यवस्थापन पक्षले जनाएको छ ।

आजको प्रतिस्पर्धी विश्वमा दक्ष जनशक्ति तयार पार्न गुणस्तरीय शिक्षा अनिवार्य रहेकोले काठमाडौं वल्र्ड स्कूलले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्दै लक्षित अभिभावकलाई बुझाउने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम राखेको स्पष्ट पारेको छ । संस्कारयुक्त र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको स्कूलको दावी छ । यसअघि फागुन महिनामा बिर्तामोड, विराटनगर, धरान, इटहरी, चितवन, पोखरा, बुटवलमा प्रवद्र्धनात्मक कार्यक्रम गरिसकेको स्कूलले चैत महिनामा हेटौंडासहित बीरगन्ज र जनकपुरमा पनि प्रवद्र्धन कार्यक्रम गर्दैछ ।