विश्वभर आत्महत्या एक जटिल समस्या बनिरहेको छ । प्रत्येक वर्ष विश्वमा करिब १० लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । हरेक ३ सेकेन्डमा एक जनाले आत्महत्या गर्ने प्रयास गर्छन् भने ३० सेकेन्डमा १ जनाले आत्महत्या गर्ने तथ्यांक सार्वजनिक भएका छन् । आत्महत्या भनेको जानीबुझी गरिने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु हो । आत्महत्या मिलेर आत्महत्या बनेको हो । आत्मको अर्थ स्वयम् अर्थात् आफैं र हत्याको अर्थ खत्तम अर्थात् समाप्त हो । यसरी आफैं समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा हो । मानिस मनोवैज्ञानिकरुपमा कमजोर हुँदै गएपछि निराशाको चरम रुप आत्महत्याको बाटो रोज्छ । आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू जोडिने गर्दछ । स्वास्थ्य संगठनका अनुसार, आत्महत्या गर्नेहरु अधिकांश १५ देखि ४४ वर्षसम्मको उमेर समूहका छन् । त्यसपछि १० देखि २४ वर्ष उमेर समूहले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।

मानिसले विभिन्न तरिकाबाट आत्महत्या गर्ने गरेको भए पनि नेपालमा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक देखिने गरेको छ । मकवानपुर जिल्लामा पनि झुण्डिएर आत्महत्या गर्ने मानिसको संख्या उच्च रहेको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्ष (२०७९÷०८०)को पहिलो ८ महिनाको तथ्यांकअनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी पाइएको हो । जिल्लामा गत साउनदेखि फागुनसम्म आत्महत्या गर्ने ९९ जनामध्ये ७० जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । झुण्डिएर आत्महत्या गर्नेमा पुरुष ४६ जना, महिला १७ जना, बालक ३ जना र बालिका ४ जना रहेका छन् । आत्महत्या गर्नेमध्ये झण्डै ७१ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । महिलाको तुलनामा झण्डै तीन गुणा बढी पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । सोही अवधिमा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या २७ जना रहेको छ । जसमा पुरुष १३, महिला १२, बालक १ र बालिका १ रहेका छन् । आफ्नै शरीरमा आगो लागाएर १ जना महिलाले र हाम फालेर १ जना पुरुषले आत्महत्या गरेका छन् ।

जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्न सक्छ । आत्महत्याका अनेकौं कारणहरु हुन्छन् । धेरै दिक्दारी लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले आत्महत्यालाई बढावा दिने गर्दछ । यस्तै, बढी मद्यपान तथा लागूऔषध सेवन गर्नु, दीर्घ रोगबाट ग्रस्त हुनु, जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्या आउनु, वैवाहिक जीवन सफल नहुनु, लामो सयम बेरोजगार हुनु, विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पनि आत्महत्याका कारण हुन् । समाजबाट एक्लिन थालेको महसुस गरेपछि मानिस आत्महत्या गर्ने स्थितिमा पुग्छन् । आफ्नो वरिपरि कोही छैनन् अर्थात् आफू एक्लो भएँ भन्ने महसुस गरेपछि मानिसले आत्महत्याको बाटो रोज्ने सम्भावना उच्च हुने गर्दछ ।

आत्महत्याका घटना बढी हुनुको कारण समाजमा मानवीय संवेदना खुम्चिँदै जानु हो । व्यक्तिलाई आत्महत्याको तहसम्म पु¥याउन समाजले उत्प्रेरकको भूमिका निर्वाह गर्छ । आत्महत्या गर्ने घटना बढ्दै जानुले यो एक गम्भीर समस्याको रुपमा देखिएको छ । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि समयमै उपयुक्त कदम नचाल्ने हो भने भविष्यमा अझ भयावह हुनसक्छ । यसैले साथी–भाइ, आफन्त, घर–परिवार, गाउँ–समाजमा आत्महत्याबारे खुलेर कुराकानी गर्नुपर्छ । मानिसको जीवनको जुनसुकै क्षणमा आत्महत्याको सोच आउन सक्ने भएकाले त्यस अवस्थालाई मानिसले बुझ्न सक्नुपर्छ । आफ्नो अमूल्य जीवन आत्महत्या गर्न होइन, आत्महत्या भनेको दानवीय सोच हो भन्ने तथ्यलाई बुझेमा यसबाट बच्न सहज हुनेछ ।