हेटौंडाः बारा जिल्लाको सिमरामा जारी सिमरा गोल्डकपमा मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भरतपुर फुटबल क्लब (बीएफसी) लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ फाइनल प्रवेश गरेको हो । निर्धारित समय र थप गरिएको समय दुईपटकको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा धकेलिएको थियो ।
खेलको सुरुवाती १० मिनेटमै २–० को अग्रता बनाएको मकवानपुरले निर्धारित समय बराबरीमा टुंग्याएको थियो । थप गरिएको समयमा पनि ३–२ को अग्रता बनाएको मकवानपुरविरुद्ध थप गरिएको दोस्रो हाफमा बीएफसीले ३–३ को बराबरी बनाउन सफल भयो । थप गरिएको समय पनि ३–३ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा मकवानपुरका ४ खेलाडीले गोल गर्दा बीएफसीका ३ खेलाडीले मात्रै गोल गर्न सफल भए । खेलमा मकवानपुरका मनिष पौडेल म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै बीएफसीले मकवानपुर–११ सँगको भेट पक्का गरेको थियो ।
प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैयाँ र उप बिजेताले नगद ५ लाख रुपैयाँ पाउनेछन् । रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा यसबर्ष फुड फेस्टिबलको आयोजना गरिएको छ । आयोजक क्लबसँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले फुडफेस्टिबलको आयोजना गरेको हो । फुड फेस्टिबलमा खानाका बिभिन्न परिकारका स्टल राखिएको छ ।











