स्ववियु अध्यक्षमा पदस्थापित छोइसाङ लामा ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामा पदस्थापित हुनुभएको छ । आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण, सपथ ग्रहण गराएपछि पदस्थापन गरिएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा छोइसाङ लामाको अध्यक्षतामा ११ सदस्यीय समिति प्रत्यक्ष निर्वाचित भएको थियो भने १० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । २१ सदस्यीय समितिमा उपाध्यक्ष र सहसचिव निर्वाचित सदस्यहरुमध्येबाट चयन हुनेछ । त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार नै चैत ५ गते मतदानको कार्यक्रम भएको थियो । अनेरास्ववियु क्रान्तिकारीका लामाले अनेरास्ववियुका नवराज शर्मा पौडेललाई पराजित गर्दै अध्यक्ष निर्वाचित हुनुभएको हो ।

स्ववियुमा निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु प्रमाणपत्र तथा सपथग्रहणपछि सामूहित तस्वीर खिचाउँदै ।

पदस्थापन समारोहलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष छोइसाङ लामाले निर्वाचन प्रक्रियाबाट एउटा उपलब्धी हासिल भएको उल्लेख गर्नुहुँदै क्याम्पसको सुधारका लागि निर्वाचित भएको बताउनुभयो । स्ववियुमा सबै संगठनको प्रतिनिधित्व रहेको जनाउनुहुँदै निर्वाचन अघिका विषयलाई बिर्सेर संगठनको प्रतिनिधि नभई सबै विद्यार्थीको प्रतिनिधि भएर काम गर्नु पर्नेमा अध्यक्ष लामाले जोड दिनुभएको छ । पदस्थापन समारोहमा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, स्ववियुका निवर्तमान अध्यक्ष कुमार बहादुर केसीको पनि उपस्थिति रहेको थियो ।