हेटौंडाः बेतुक र लामा भाषण नभई विधिको शासनका लागि राजनीति गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केद्रीय सदस्य रमेश प्रसाईले बताउनुभएको छ । शनिबार पार्टीको भीमफेदी गाउँकमिटी गठन गर्ने क्रममा प्रसाईले अन्य पार्टीका नेताहरुले अनावश्यक भाषण गर्ने र काम नगर्ने भएकाले रास्वपाले भाषण नभई काम गरेर देखाउने बताउनुभयो ।
रास्वपामा कुनै कार्यकर्ता नहुने, पार्टीमा सबै सदस्य सहयात्री समान हुने उहाँको भनाई छ । पार्टीमा रहेका साधारण सदस्यदेखि पार्टीका सभापतिसम्म बराबर व्यवहार हुने अन्य पार्टीमा जस्तो झोले कार्यकर्ता नहुने बताउनुभयो । आफूले कसैलाई नझुक्याएको, कसैलाई नढाँटेको बताउँदै रास्वपामा कुनै फरक धार नहुने भएकाले घण्टीलाई मतदान गरेर जिताउन जनतालाई आग्रहसमेत गर्नुभयो । एक पटक रास्वपालाई भोट दिएर जिताउनुपर्ने र जिताएका प्रतिनिधिले काम नगरेमा अर्को पटक भोट माग्न आउँदा घरबाट लखेट्ने सुविधा भएको उहाँको भनाई छ ।
प्रसाईले आगामी दिनमा अन्य दलको दलदललाई बिर्सन आवश्यक रहेको धारणा राख्नुभयो । विगतका दिनहरुमा उच्चस्तरका उपचार गर्ने अस्पताल निर्माण गर्न नसक्नु अन्य दलको अवस्था रहेको बताउँदै परिवर्तन, विकास सबैलाई चाहिएको र सबैको सपना भएको बताउनुभयो । कुनै समयमा कुशकुमार जोशीजस्ताका प्रतिबद्धतामा सुरुङमार्ग बन्ने सुनेर कयौं मानिसले सेयरमा लगानी लगाएको भए पनि त्यसको हिसाब–किताब नभएको र कुनै राजनैतिक दलका नेताहरुले बोल्न नसकेको बताउनुभयो ।
अन्य दलहरुका नेताहरु उद्योगी, व्यापारी र बिचौलियाहरुको हण्डी खाएर बाँचेकाले कुनैपनि दलका नेता बोल्न नसकेको प्रसाईको आरोप छ । आफ्ने पार्टीले कसैको हण्डी नखाने भएकाले आफ्नो पार्टीको नियत सफा रहेको बताउँदै अन्य दलहरुसँग ठूला–ठूला नीति भएको तर काम गर्ने नियत सफा नभएको स्पष्ट पार्नुभयो । रास्वपामा राजनीति पेसा नभई समाज र जनताको सेवा भएको बताउँदै आफ्नो पार्टीले कुनै पनि बहानामा चक्काजाम नगर्ने, सार्वजानिक सम्पत्तिको दुरुपयोग नगर्ने र अपारदर्शीरुपमा कुनै पनि चन्दा नउठाउने दावी गर्नुभयो ।
आम्दानी खर्चलाई जनताले हेर्न पाउनेगरी वेबसाइटहरुमा राख्ने, पार्टीभित्र अन्य दलको जस्तो कुनै पनि पार्टी सदस्यलाई झण्डा र पार्टीको नाममा चन्दा उठाएर खाने छुट नभएको धारणा प्रसाईले राख्नुभयो । पार्टीमा रिटायर्ड भएका वृद्धहरु नभई काम गर्ने जोश जाँगर भएको युवाको आवश्यकता रहेको उहाँको भनाई छ । कर्यक्रममा रास्वपा मकवानपुरका जिल्ला संयोजक भरत पराजुलीको सभाअध्यक्षता र पार्टीका केद्रीय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
