हेटौंडाः मकवानपुर प्रहरीले ८ महिनामा झण्डै ५ हजार केजी लागूऔषध गाँजा बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको विवरणमा प्रहरीले ४ हजार एक सय ८० केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले साउन महिनामा ४ सय ८० केजी, भदौमा एक हजार ९२ केजी, असोजमा २ सय ४८ केजी र कार्तिकमा ११ केजी गाँजा बरामद गरेको छ । यस्तै, मंसिरमा १ सय ४२ केजी, पुसमा २३ केजी, माघमा ४९ केजी र फागुनमा २ हजार १ सय ३१ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
८ महिनाको समग्र विवरण हेर्दा फागुन महिनामा सबैभन्दा बढी लागूऔषध गाँजा बरामद भएको देखिन्छ । फागुनमा मात्रै २ हजार १ सय ३१ केजी गाँजा बरामद भएको छ । यस्तै, कार्तिकमा सबैभन्दा कम ११ केजी गाँजा बरामद भएको छ । यस अवधिमा प्रहरीले लागूऔषधको मुद्धामा १ सय ७० जना मानिस पक्राउ गरेको छ । प्रहरी कार्यालयमा ९१ वटा लागूऔषधको मुद्धा परेको छ । जसमध्ये १ सय ४४ जना पुरुष, १३ जना महिला र १३ जना भारतीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय लागूऔषधको तस्करमा भारतीयसमेत सामेल भएको पाइएको छ । भदौमा १ जना, असोजमा ५ जना, माघमा १ जना र फागुन महिनामा ६ जना भारतीय नागरिक पक्राउ पर्नुले यसलाई पुष्टि गर्दछ । भारतको भन्दा नेपालको पहाडी भेगको लागूऔषध गाँजा राम्रो मानिने गरेका कारण मकवानपुर गाँजा तस्करमा अग्रस्थानमा रहेको बताइएको छ ।
मकवानपुरबाट भन्सारसँग जोडिने नाका नजिक भएकाले तस्करीहरुले सहजै ओसारपसार गरेको पाइन्छ । मकवानपुरमा पहाडी भूभाग भएकाले मानिसले गाँजा खेती गर्दै आएका छन् । सरकारले गाँजालाई अवैधानिक भनेका कारण प्रहरीले वर्षेनि गाँजा फडानीसमेत गर्दै आएको छ । प्रहरीले २१ किलो चरेश, १३ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन, ९ किलो ८ सय ग्राम अफिमसमेत बरामद गरेको छ । यसै अवधिमा नाइट्रोभेट ३ हजार ९ सय ५७ ट्याब्लेट, डाइजेपाम ६ सय ६८ ट्याब्लेट, फेनारगन ६ सय ८० ट्याब्लेट, नोर्फिन ६ सय ७७ ट्याब्लेट र फोरेक्स ९ सय ६२ बोतल बरामद गरेको प्रहरीको तथ्यांक छ । भारतको नाका नजिक भएकाले भारतबाट आगूऔषध अवैधरुपमा ठूलो परिमाणमा नेपाल भित्रने गरेको छ । प्रहरीको सक्रियतामा धेरै मात्रामा लागूऔषध पक्राउ गर्न सफल भएको छ ।
