म्यान अफ द म्याच गढीका कप्तान सुमन बोम्जनलाई ट्रफी प्रदान गरिँदै ।

हेटौंडाः हेटौंडामा जारी दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा मकवानपुरगढी गाउँपालिकाले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा इन्द्रसरोवर गाउँपालिकालाई सडेनडेथमा हराएको हो ।

निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकर पनि बराबरीपछि खेल सडनडेथमा पुगेको थियो । खेलमा सुरुवाती अग्रता इन्द्रसरोवरले लिएको थियो । खेलको १८ औं मिनेटमा इन्द्रसरोवरका अरुण शाहले गोल गरे । खेलको ७२ औं मिनेटमा विकास तितुङले गोल गर्दै गढीलाई खेलमा फर्काएको हो ।

खेलको म्यान अफ द म्याच गढीका कप्तान सुमन बोम्जन घोषित भए । म्यान अफ द म्याच बोम्जनलाई बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले ट्रफी हस्तान्तरण गर्नुभयो । सोमबारको खेल हेर्नका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली रंगशाला पुग्नुभएको थियो ।