हेटौंडाः हेटौंडा—५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयको ४५ औं अभिभावक भेला आयोजना गरेको छ । शनिबार विद्यालयले शिक्षक तथा कर्मचारी सम्मान र पुरस्कार वितरण कार्यक्रम गर्दै भेला आयोजना गरेको हो ।
भेलाले ७ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । प्राथमिक तहबाट अनिता गौतम, निम्नमाध्यमिक तहबाट दीपक सुवेदी, माध्यमिक तहबाट नितेष ठकुरलाई सम्मानित गरिएको छ । यस्तै, निजी स्रोततर्फबाट शिक्षकहरु मरिया पौडेल र राधिका खतिवडालाई सम्मानित गरिएको छ । बालविकास शिक्षक विष्णुकुमारी श्रेष्ठ र दृष्टिविहीन विद्यार्थीको सेवामा लामो समयदेखि सहयोग पु¥याएको भन्दै कर्मचारी सीतामाया लामालाई नगद, प्रशांसपत्र र दोसल्लाले सम्मानित गरिएको छ ।
भेलाले विद्यालय व्यवस्थापन समितिको चार जना सदस्यसमेत सर्वसम्मत चयन गरिएको छ । रवीन्द्र पोखरेल, विशालराज महत, सुनिता दाहाल र धनकुमारी लामालाई चयन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको म्याद गत फागुन १६ गते सकिएको थियो । विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन केही दिनमै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत चयन गरिने जनाइएको छ । भेलामा कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ भने विद्यार्थीले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयको आर्थिक, शैक्षिक र भौतिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक भरत अर्यालले प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर महतको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यमा भेला भएको हो । उपमेयर बनियाँले गुणस्तरीय शैक्षिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । भेलामा २ सय ७६ जना अभिभावकहरुको उपस्थिति थियो । विद्यालयमा १ हजार एक सय ७ जना विद्यार्थी अध्ययनरत् छन् ।