हेटौंडाः जिल्ला बक्सिङ संघ मकवानपुर र बागमती प्रदेश खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भएको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगितामा बक्समाण्डु च्याम्पियन बनेको छ ।

बक्समाण्डुले ४ स्वर्ण, ३ रजत र २ कास्य जितेको हो । पुरुष ६३.५ केजी तौल समुहमा नक्सालका प्रज्वल श्रेष्ठलाई पराजित गर्दै मकवानपुरका सोहन राईले स्वर्ण जितेका छन् । प्रतियोगिताको विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको छ भने विधागत उत्कृष्टलाई ३ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगिताको अवसरमा जिल्ला बक्सिङ संघ मकवानपुरले मकवानपुरका पूर्व बक्सिङ खेलाडी तथा प्रशिक्षकहरु सुशील घिमिरे, अनिल दाहाल, लाल बहादुर पौडेल, राजन शिल्पकार, पूर्ण बहादुर लामा, विकास लामा, पुरन राई, अनुराधा लामा, बुद्धि लामा, दिनेश श्रेष्ठ, भुपेन्द्र विष्ट, अजित गुरुङ, ध्रुवलाल श्रेष्ठ, सबिन भट्टाचार्य र श्याम मानन्धरलाई सम्मान गरेको छ । मंगलबारबाट सुरु प्रतियोगितामा ३५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दिपेश जोशीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम भएको हो ।