हेटौंडाः उच्च अदालत पाटन हेटौंडा इजलासले स्ववियू निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको छ । नेविसंघका भिषण ठकुरी पक्षले उच्च अदालत पाटन हेटौंडा इजलासमा मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचन स्थगित गर्न माग गर्दै रिट दायर गरेका थिए ।

ठकुरीले गत फागुन ३० गते मकवानपुर बहुमुखी क्याम्पस, निर्वाचन आयुक्तविरुद्ध हालेको रिटमा अदालतले शुक्रबार अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम फैसला गर्दै स्ववियू निर्वाचन गर्न आदेश दिएको हो ।

ठकुरीको तर्फबाट वरिष्ठ अधिवक्ता गणेशप्रसाद दाहाल एवम् अधिवक्ताहरु कृष्णप्रसाद अर्याल, अज्मीर केसी, चन्द्रप्रसाद पौडेल, शिवप्रसाद बन्जारा, मनप्रसाद भट्टराई, राधाकृष्ण मैनाली, विषम अधिकारीले बहस गर्नुभएको थियो । विपक्षीका तर्फबाट अधिवक्ताहरु अमृतकुमार लामा, मदनकुमार दाहाल, मुकुन्दप्रसाद अधिकारी र रमा चौलागाईंले बहस गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय स्ववियू निर्वाचन तालिका २०७९ अनुसार निर्वाचन कार्यक्रम प्रकाशित भई संघ/संगठन/समूह दर्ताको कार्यक्रम मिति २०७९ फागुन १९ गते दिनको ३ बजेसम्म तोकिएको समयभित्र सुवास सापकोटाको समूहले नेपाल विद्यार्थी संघले निर्वाचनमा भाग लिने गरी संघ संगठन दर्ता गराएका थिए । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०७९ को दफा ७ (१) मा तोकिएको समयभित्र संघ/संगठन दर्ता नगराएमा मान्यता नपाउने उल्लेख भई मिति २०७९ फागुन १९ पछिमात्र ठकुरीले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयको पत्र प्राप्त गरेको पाइएको अदालतको आदेशमा उल्लेख छ ।

ठकुरीले निर्वाचन प्रयोजनका लागि तोकिएको समयभित्र आफ्नो संगठन दर्ता गराएको नदेखिएको एवम् निवेदकले उठाएको आधिकारिकतासम्बन्धी विवाद तथा विधानको व्याख्यालगायतको प्रश्नमा अन्तिम फैसला हुँदाको बखत न्याय निरुपण हुने अदालतको आदेशमा जनाइएको छ । निर्वाचन कार्यक्रम प्रकाशित भई संघ/संगठन दर्ता भइसकेको अवस्थामा सो कार्यक्रमअनुसार अघि बढाउन अदालतले निर्देशन दिएको छ । अदालतले भिषण ठकुरीको पक्षलाई तारिखको लागि चैत १५ गतेलाई बेलाएको छ ।