हेटौंडाः हेटौंडामा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा आज शुक्रबार सेमिफाइनल चरणका खेलहरु भइरहेको छ । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार दिउँसो १ बजेसम्ममा पुरुषतर्फ ४८ केजी, ५१ केजी र ५४ केजी तौल समुहको फाइनल समिकरण पुरा भएको छ ।

पुरुषतर्फ ४८ केजी तौल समूहमा ललितपुरका प्रकाश कठायतलाई नकआउट गर्दै अल्फा बक्सिङ क्लबका विकेशलाल बुढा मगर फाइनलमा पुगेका छन् । ४८ केजी तौल समूहको दोस्रो सेमिफाइनलमा भाइभ्सका सञ्जय लामाले नक्साल बक्सिङ क्लबका मानव लामालाई नकआउट गर्दै फाइनलमा प्रवेश गरेका छन् । लामा र मगरबीच शनिबार फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार नै भएको ५१ केजी तौल समूहको पहिलो सेमिफाइनल खेल अछामका टिकाराम ऐडीलाई नकआउट गर्दै एबीसी बक्सिङ क्लबका रविन लिम्बु फाइनलमा प्रवेश गरेका छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा बक्समाण्डुका प्रवल उप्रेतीलाई नकआउट गर्दै प्युठानका निरञ्जन चौधरी फाइनलमा प्रवेश गरेका छन् । लिम्बु र चौधरीबीच शनिबार फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

५४ केजी तौल समूहमा अमृत ठाडारीलाई हराउँदै दाङका विवेक देवकोटा फाइनलमा प्रवेश गरेका छन् भने दोस्रो सेमिफाइनल खेलमा नक्साल बक्सिङ क्लबका पुकार जोशीलाई नकआउट गर्दै अल्पा बक्सिङ क्लबका जीवन महरा फाइनलमा प्रवेश गरेका छन् । देवकोटा र महराबीच शनिबार फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २५ खेल सम्पन्न भएको थियो भने दोस्रो दिन बुधबार ३४ खेल भएको थियो । तेस्रो दिन बिहीबार ३५ खेल भएको थियो । आज सेमिफाइनल चरणका खेल सम्पन्न गरी भोलि शनिबार फाइनल खेलहरू हुने मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले जानकारी दिनुभएको छ