विद्यार्थीलाई परिवर्तनको सम्बाहक मानिन्छ । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई सफल बनाउन विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको छ । विद्यार्थीलाई दलगत राजनीतिबाट अलग राख्नुपर्ने चर्चा र बहस चल्ने गरेको भए पनि राजनीतिक आन्दोलनमा तिनै विद्यार्थी अग्रमोर्चामा देखिने गरेका छन् । पञ्चायती शासन व्यवस्थाको सुरुवातसँगै मुलुकमा विद्यार्थी राजनीति अगाडि बढेको मानिन्छ । दलबिहीन पञ्चायती व्यवस्थामा राजनीतिक दलहरुले आफ्ना अभियानलाई जनतामाझ लैजान विद्यार्थीलाई माध्यमका रुपमा प्रयोग गरेका थिए । त्यही भएर दलको भातृ संगठनको रुपमा विद्यार्थी संगठन जन्मिएको हुनसक्छ । विद्यार्थीलाई दलको भातृ संगठन बन्नु आवश्यक नभए पनि राजनीतिक दलहरुले विद्यार्थी संगठनलाई दलीय राजनीतिको भरपर्दो हतियारको रुपमा उपयोग गरिरहेका छन् ।

विद्यार्थीमा नेतृत्व क्षमता विकास गराउन महत्वपूर्ण बन्दै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत् उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनलाई आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनहरु आफ्नो मातृपार्टीले जस्तै गठबन्धन गरिरहेका छन् । मकवानपुर जिल्लामा पनि अनेरास्ववियु र नेविसंघले गठबन्धनको नेतृत्व गरिरहेको छ । एमालेको भातृ संगठन अनेरास्ववियु र कांग्रेसको भातृ संगठन नेविसंघले अन्य दल निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यिनै दलहरुको बेवास्ताका कारण नियमित हुन सकेको छैन । पछिल्लो दुई दशकमा दुई पटकमात्र स्ववियु निर्वाचन भएको छ । लामो समयको अन्तरालपछि यस पटक त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन लागेको छ । मकवानपुर जिल्लाका मकवानपुर, हेटौंडा, वन विज्ञान, वंशगोपाल, पालुङ, निर्मल, मनहरी, हटिया जनप्रिय क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

विगतमा घोषणा भएर पनि स्थगित हुँदै आएको स्ववियु निर्वाचन यसपटक भने अधिकांश क्याम्पसमा सम्पन्न हुँदैछ । त्रिभुवन विश्वविद्यालयले आप्mना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा विद्यार्थी नेतृत्व चयनका लागि स्ववियु निर्वाचन गराउँदछ । झण्डै ६ दशकको इतिहास बोकेको स्ववियुले विद्यार्थीको नेतृत्व क्षमता विकासका साथै विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थीमैत्री वातावरण कायम गर्न पनि सहयोगी बन्ने गरेको छ । कलेजमा शैक्षिक वातावरण कायम गरी विद्यार्थीको हकहितका पक्षमा रचनात्मक सहयोग गर्नु स्ववियुको मुख्य जिम्मेवारी बन्नुपर्छ । तर, स्ववियु निर्वाचनलाई आफ्नो अनुकूल बनाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल तथा विद्यार्थी संगठनबीच अस्वस्थ प्रतिस्पर्धा हुनुले शैक्षिक र विद्यार्थी हकहितका मुद्दा ओझेलमा पर्ने गरेका छन् ।

विद्यार्थीलाई राजनीतिक दलको झोला बोकाउनु उचित हुँदैन । स्ववियु तथा विद्यार्थी संगठनलाई विद्यार्थीको हक, हित र शैक्षिक वातावरणको बारेमा निर्णय लिन स्वतन्त्रता दिनुपर्छ । उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीले राजनीतिमा चासो राख्न आवश्यक भए पनि उनीहरुलाई राजनीतिक मूलधारमा होम्नु हुँदैन । विद्यार्थी जीवनबाटै विद्यार्थीले विकृत राजनीतिक संस्कार सिक्दा असल राजनीतिक संस्कार ओझेलमा पर्ने सम्भावना रहन्छ । कमसेकम स्ववियुलाई दलगत राजनीतिबाट टाढा राख्न सकियो भने पनि विश्वविद्यालय र यस मातहतका कलेजमा राम्रो शैक्षिक वातावरण कायम हुनसक्छ । स्ववियु नेतृत्वलाई पनि पार्टीका नेताको पिछलग्गु र क्याम्पस प्रशासनको सहयोगी बनाउने हो भने विद्यार्थी हकहितका मुद्दा सधैं ओझेलमा पर्ने निश्चित छ । आसन्न स्ववियु निर्वाचनबाट दलीय स्वार्थभन्दा विद्यार्थी हकहित र क्याम्पसको शैक्षिक विकासमा ध्यान दिने नेतृत्व चयन गर्नु आवश्यक छ ।