हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज बैशाख २३ गते काउली, बन्दा, च्याउ, तन्नेबोडी र घिरौंलाको मूल्यमा थोरै वृद्धि भएको छ । आज काउली प्रतिकेजी २० रुपैयाँ, बन्दा १२ रुपैयाँ, च्याउ प्रतिकेजी १३० रुपैयाँ, तन्नेबोडी ५० रुपैयाँ र घिरौँला ५५ रुपैयाँमा कारोबार भएको छ । हिजो काउली १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, च्याउ १२० रुपैयाँ, तन्नेबोडी ४५ रुपैयाँ र घिरौंला ५५ रुपैयाँमा कारोबार भएको थियो ।

आज भिन्डी र लौका भने केही सस्तो भएको छ । हिजो प्रतिकेजी ७० रुपैयाँमा कारोबार भएको भिन्डी ६० रुपैयाँमा र हिजो २५ रुपैयाँमा कारोबार भएको लौका आज २२ रुपैयाँमा कारोबार भएको छ । आज प्रतिकेजी गोलभेँडा २०, मकैबोडी ६०, करेला ५०, भ्यान्टा १०, घिउ सिमी ४०, काँक्रो १५, मुला १०, गाजर २५, भेँडे खुर्सानी ५०, रुख कटहर ४०, हरियो खुर्सानी ५०, हरियो धनियाँ ५०, हरियो फर्सी २० रुपैयाँमा कारोबार भएको छ भने रायोको साग २०, फर्सीको मुन्टा ५० र न्यूरो ४० रुपैयाँ प्रतिमुठामा कारोबार भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । थोक तरकारी बजारमा आज मटरकोसा भने नयाँ आएको छैन ।

थोक तरकारी बजारका व्यवसायीले किसानलाई थोक मूल्यमा १० प्रतिशत कट्टा गरेर पैसा भुक्तानी गर्ने गरेका छन् । लकडाउन जारी रहँदा हेटौंडाको थोक तरकारी बजारमा चितवन र मकवानपुर जिल्लामा उत्पादन भएका तरकारी मात्रै आइरहेको छ । २ नम्बर प्रदेशका जिल्लाबाट तरकारी तथा फलफुल आयातमा रोक लगाइएको छ ।