हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै अनुदानका बारेमा जानकारी गराएको हो । कोरोना भाइरसको जोखिमबाट बच्न तथा लकडाउनका कारण गाउँपालिकामा आएका वा आउन चाहनेलाई खेती तथा पशुपालनमा प्रेरित गर्न गाउँपालिकाले भु–उपयोग कार्यविधि २०७७ (संशोधन सहित) कार्यान्वयनमा ल्याएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभएको छ ।

बिदेशबाट फर्किएका वा जाने तयारीमा रहेका विपन्न समुदायका एकसय जना युवालाई तालिमसहित कृषि र पशुपालनका लागि प्रोत्साहन गर्न बीउ पुँजी सहयोग गरिने पनि उहाँले बताउनुभयो । गाउँमा फर्कन आव्हान गर्नुहुँदै गाउँपालिका अध्यक्ष हुमागाईले भन्नुभयो, ‘गाउँमै उद्यमी बनौं, शहरमा बसाई जाने नभई शहरका सुविधा क्रमैसँग गाउँमा ल्याउन जग्गा बाँझो नराख्न प्रोत्साहित गर्न अनुदानको कार्यक्रम ल्याएका छौं ।’

गाउँपालिकाले बाँझो जग्गामा फलफुल खेती गरे प्रतिरोपनी दुई हजार रुपैयाँ, अन्नबाली, तरकारीबाली तथा नगदेबाली गरे प्रतिरोपनी दुई हजार पाँच सय रुपैयाँ, लकडाउनका बेला गाउँपालिकाले उपलब्ध गराएको राहत प्राप्त गर्ने परिवारले आफ्नै स्वामित्वको जमिन वा लिजमा लिएको जमिनमा अन्नबाली, तरकारीबाली, फलफुल तथा मसलाजन्य खेती गरे प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तै बाँझो रहेको आफ्नै वा लिजमा लिएको जग्गामा ३० वटा बाख्रा वा ५ वटा गाई, भैंसी वा १० वटा बंगुर पाल्ने गरी खोर वा गोठ निर्माण गर्न एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने, माछा पालन गर्न पोखरी बनाउन प्रतिरोपनी १५ हजार रुपैयाँ, मौरी पालन गर्ने किसानलाई प्रतिघार पाँच हजार रुपैयाँसम्म अनुदान वितरण गरिने जनाएको छ ।

अनुदान कार्यक्रममा सहभागी नभई खेतीयोग्य जमिन बाँझो राखेमा गाउँपालिकाले भूमिकरमा वृद्धि गर्ने, जमिन बाँझो राख्ने व्यक्तिलाई गाउँपालिकाले प्रदान गर्ने सेवाबाट समेत बञ्चित गराउन सकिने उल्लेख गरेको छ । बाँझो राखिएको जमिन गाउँपालिकाले मोहीलाई कमाउन दिने, खेतीयोग्य जमिनमा खेती गर्न नसके गाउँपालिकाको भूमि बैंकमा जम्मा गर्नु पर्ने पनि गाउँपालिकाले स्पष्ट पारेको छ ।