उद्यमी महिलालाई सम्मानपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले जिल्लाभरका संघमा आवद्ध उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी संघमा आवद्ध जिल्लाभरका १ सय ३८ वटा संस्था मध्ये ११ वटा संस्थाका महिला उद्यमीहरुलाई कदरपत्रले सम्मान गरेको हो ।

सम्मान हुनेमा महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) की महिला उद्यमी पूर्ण माया दोङ, महिला कल्याण साकोसकी महिला उद्यमी लक्ष्मी तिमल्सिना, मनहरी साकोसक महिला उद्यमी लक्ष्मी प्रजा, जनचेतना साकोसकी महिला उद्यमी सम्झना पाख्रिन, श्रमजिबी महिला साकोसकी महिला उद्यमी कमला नगरकोटि, महिला मिलन साकोसकी महिला उद्यमी संगीता वाईबा, जनकल्याण साकोसकी महिला उद्यमी राम कुमारी राई, जागरण साकोसकी महिला उद्यमी बाल कुमारी दहाल, महिला सेवा साकोसकी महिला उद्यमी शारदा न्यौपाने, महिला आवाज साकोसकी महिला उद्यमी सुभद्रा खत्री, महिला जनशक्ति साकोसकी महिला उद्यमी रिता पाख्रिन रहनु भएको छ । जिल्लाभरका सहकारी संस्थामा उत्कृष्ट रहेका उद्यमी महिलालाई सम्मान गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै गर्दा विगतका दिनहरुमा विभिन्न राजनीतिक आन्दोलन भएको स्मरण गराउनु भयो । २०७२ सालको संविधान ल्याउन महिलाको पनि धेरै योगदान रहेको बताउँदै संविधान अनुसार सरकारको तीनै तहमा महिलाको समावेश भएको छ । महिला उच्च सत्तामा पुग्न आर्थिक समस्या रहेको बताउँदै अबका दिनहरुमा सहकारी संस्था व्यवस्थापन गरी महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको चुनौती सहकारी व्यवस्थापन गर्नु रहेकोले जिल्ला सहकारी संघले स्थानीय तह संघ बसेर सहकारीको अनुसन्धान गर्न आवश्यक रहेको उहाँको धारणा रहेको छ ।