विश्वविद्यालय तहको शिक्षा हासिल गर्नु औपचारिक शिक्षाको विषय मात्रै होइन । पछिल्लो समय नेपाली समाजमा विद्यालय तहमा समेत पूर्वप्राथमिक तहदेखि नै विद्यार्थीले औपचारिक शिक्षा मात्रै नभई जिवन्त सिकाइको पक्षमा पैरवी हुन थालेको छ । विद्यार्थीले औपचारिकरुपमा मात्रै नभई अनौपचारिक र दैनिक क्रियाकलापबाट समेत अनेकौं ज्ञान आर्जन गर्न सक्नुपर्ने मान्यता विकसित हुँदै गरेको छ । विश्वविद्यालय तहको शिक्षा त अझ वृहत र बहुआयामिक हुनु आवश्यक छ । विश्वविद्यालय तहको अध्ययन गर्ने विद्यार्थीका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन राजनीति सिक्ने अवसर हो । पछिल्लो समय विद्यालय तहमै कक्षागत नेता चयन गर्न, विद्यालयकै नेता विद्यार्थी छनोट गर्न निर्वाचनको अभ्यास गराउने क्रम बढेको छ ।
विद्यालयमा निर्वाचनको अभ्यासलाई विद्यार्थीमा नेतृत्व विकासको महत्वपूर्ण अवसरको रुपमा बुझ्न थालिएको छ । विश्वविद्यालय तहमा भने राजनीतिक दलसम्वद्ध विद्यार्थी संगठनहरु बीच हुने प्रतिस्पर्धामा अराजनीतिक क्रियाकलापदेखि हुलहुज्जत र झैझगडाका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनप्रति आम समुदायमा नकारात्मक धारणा रहने गरेको छ । युवा विद्यार्थीमा राजनीतिक दलको अस्वभाविक र नकारात्मक भूमिकाले पनि स्वतन्त्र विद्यार्थी युनियनप्रति नकारात्मक धारणा विकसित भएको देखिन्छ । देशकै पुरानो विश्वविद्याल त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि निर्धारण गरेको स्ववियु निर्वाचनका लागि संगठन दर्ता र मतदाता नामावली प्रकाशन गर्ने कार्य पूरा भइसकेको छ ।
स्ववियुलाई विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने क्याम्पसहरुमा महत्वपूर्ण सरोकारवाला समूहको रुपमा पनि बुझ्ने गरिन्छ । यसकारण पनि विद्यार्थी प्रतिनिधिको रुपमा स्ववियुका पदाधिकारी चयन गर्नुपर्ने आवश्यकता छ । विद्यार्थी प्रतिनिधि चयनका लागि विश्वविद्यालयले निर्वाचनको प्रक्रिया सुरु गरे पनि यसलाई असल अभ्यासमा रुपान्तरण गर्न सम्बन्धित क्याम्पसले सहजीकरण गर्नु आवश्यक छ । निर्वाचनको प्रक्रियालाई स्वभाविक बनाउँदै लैजान विद्यार्थीहरुमा पर्याप्त अभिमुखीकरण जरुरी छ । राजनीतिक दलसम्वद्ध विद्यार्थी संगठन तथा स्वतन्त्र उम्मेदवार हुन चाहने विद्यार्थीलाई जिम्मेवार बन्न प्रेरित गर्न पनि क्याम्पस प्रशासनले आवश्यक सहजीकरण गर्नुपर्छ ।
विश्वविद्यालयले स्ववियु निर्वाचनलाई आवधिक रुपमा निश्चित गर्न नसक्नुले पनि स्ववियुको औचित्यप्रति नै प्रश्न समेत उठ्ने गरेको छ । स्ववियु निर्वाचनलाई आवधिकरुपमा सुनिश्चित गर्दै विधिसम्मत निर्वाचनको अभ्यासलाई अभ्यस्त गर्न विश्वविद्यालय र सम्बन्धित क्याम्पसहरुले प्रयास गर्ने हो भने युवा विद्यार्थीलाई औपचारिक शिक्षाका साथसाथै राजनीति सिक्ने अवसर समेत रहने थियो । हिजो विद्यार्थी राजनीतिमा सक्रियहरु नै आज मूलधारको राजनीतिमा स्थापित भएका छन् । यसर्थ भोलिको असल राजनीतिका लागि आजको विद्यार्थी राजनीतिको असल अभ्यास जरुरी छ । विश्वविद्यालय शिक्षासँगै राजनीतिक संस्कारका लागि पनि योगदान गर्न जरुरी छ । आगामी दिनमा विश्वविद्यालयले विद्यार्थी राजनीतिलाई सुनिश्चित, सुरक्षित र असल अभ्यासको नमूनाको रुपमा स्थापित गर्न ध्यान देओस् ।
