भेलालाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख ललित घलान ।

हेटौंडाः आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा जिल्ला भेलाको आयोजना गरिएको छ । फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा जिल्ला भेला भएको हो ।

भेलालाई सम्बोधन गर्नु हुँदै जिसस मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता हुनु जरुरी रहेको बताउनुभएको छ । आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे पनि अन्ततः विभिन्न समस्याका कारण यस क्षेत्रबाट पलायन हुने गरेको सन्दर्भ देखिएको प्रमुख घलानले उल्लेख गर्नुभयो । उहाँले चुनौतीलाई न्युनीकरण गर्दै पत्रकारितामा जनजाति पत्रकारहरुको निरन्तरतामा जोड दिनुभयो ।

यसैगरी, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले समाचारका विषयवस्तु समावेशी ढंगले प्रकाशन प्रसारण हुन संचारगृहको न्युज रुम (समाचार कक्ष) समावेशी हुनुपर्ने बताउनुभयो । हालसम्मको संचारगृहहरुको न्युज रुमहरु हेर्दा समावेशी नरहेको र जसका कारण न्युजका विषय वस्तुहरु पनि समावेशी ढंगले प्रकाशन प्रसारण हुन नसकेको संस्थापक अध्यक्ष विष्टले उल्लेख गर्नुभयो । यस्तै, आदिवासी जनजाति समुदायका सवाल र विषयवस्तु आदिवासी जनजाति पत्रकारहरुले नै उठान गर्दा प्रभावकारी हुने भन्दै संस्थापक अध्यक्ष विष्टले हाल पहिचानको मुद्दा ओझेल पर्दै गएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले आदिवासी जनजाति पत्रकार संगठन र जनजाति महासंघबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । जनजाति पत्रकारहरुले आदिवासी जनजाति समुदायको आवाजको रुपमा भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा उक्त भूमिका सशक्त बन्दै जाने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले हालको सन्दर्भमा आदिवासी जनजाति पत्रकारहरुले आर्थिक लगायत विभिन्न चुनौतिहरुको सामना गर्दै पत्रकारितामा निरन्तरता दिइरहेको स्थिति रहेको उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको आदिवासी जनजाति जनप्रतिनीधिहरुले फोनिज संगठनहरुलाई थोरै मात्रामा आर्थिक एवम् भौतिक सहयोगका कार्यक्रममा जोडिन सकिए स्थिति सहज हुनसक्ने महासचिव सारु मगरले विचार व्यक्त गर्नुभयो ।

भेलाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष सम्झना कार्की, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, स्वतन्त्र पत्रकार संघ केन्द्रीय सििमतका उपमहासचिव सुरेश श्रेष्ठ, फोनिज केन्द्रीय पार्षद सुवर्णलाल श्रेष्ठ, समाजवादी प्रेस संगठन मकवानपुरका उपाध्यक्ष जी न्यौपाने, थारु कल्याणकारी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी लगायतको उपस्थिति थियो ।