सहकारीका सचिवको भेलामा सहभागीहरु ।

हेटौंडाः सहकारी संस्थाहरुमा समस्या देखिएको बेला जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा बचत तथा ऋण सहकारी संस्थाका सचिवहरुको भेलाको आयोजना गरेको छ । शुक्रबार हेटौंडामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता र प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सहकारी संस्थामा समस्या भइरहेका बेला संघमा आवद्ध सदस्य संस्थाका सचिवहरुको भेला गरी सहकारीको उचित व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउन खोजिएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । विषयगत सहकारीको रुपमा बचत तथा ऋण सहकारीमा भन्दा बहुउद्देश्यीय सहकारी संस्थामा केही समस्या देखिएको उहाँको भनाइ छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलले जिल्ला बचत तथा ऋण सहकारी संघले मकवानपुरका बचत संस्थाहरुलाई ऐन र कानुन सिकाउने राम्रो काम गरेको बताउनुभएको छ । पहँुचको भरमा स्थापना भएका सहकारी संस्थाले हेटौंडाका सहकारीमा नराम्रो छाप परेको बताउनुहुँदै पौडेलले ऐन–नियम अनुसार सहकारी चलाउनु पर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले बागमती प्रदेशमा सहकारीका बचतकर्ताहरु अहिले मुद्दा लिएर आउने गरेको बताउनु भयो । सहकारी संस्थाहरु कुन ठाउँमा सेवा सञ्चालन गर्ने त्यस ठाउँका स्थानीय सरकारको सहमतिमा कार्य गर्नुपर्ने उहाँको भनाइ रहेको छ । पालिकाको नियमन भित्र सहकारी संस्था पर्ने भएकाले निगरानी पनि स्थानीय तहले गर्नुपर्ने ज्ञवालीको भनाइ थियो ।

प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले मकवानपुरमा रहेको सहकारी व्यवस्थित गर्दै कार्यक्रम गर्नु राम्रो भएको जानकारी गराउनुभयो । मकवानपुरमा १–२ वटा सहकारीमा कमी कमजोरी भए तापनि सहकारी संस्था राज्य मात्र नभई सबै मिलेर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । सहकारीका सदस्यलाई सदस्य शिक्षा दिन जरुरी रहेको देवकोटाको भनाइ रहेको छ । नीतिगतरुपमा चलेको सहकारी संस्थालाई व्यवस्थित गर्दै जाने र नराम्रा नियत भएकालाई कारबाही गरेर अगाडि बढ्नु पर्ने देवकोटाको सुझाव छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कल्पना श्रेष्ठले अभिमुखीकारण गराउनु भएको छ ।