हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अगुवाईमा आज थप २ स्थानमा हात धुने स्टेशनको राखिएको छ । यसअघि लायन्स तथा लियो क्लबको अगुवाईमा हेटौंडाका विभिन्न ८ स्थानमा हात धुने स्टेशन राखिएको थियो । आज हेटौंडा–५, पिप्ले र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड परिसरमा हात धुने स्टेशन राखिएको लायन्स क्लब इन्टरनेशन ३२५ बी २ का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले जानकारी दिनुभयो ।
थप ३ स्थानमा पनि हात धुने स्टेशन छिट्टै राखिने नकर्मीले बताउनुभयो । उहाँका अनुसार एउटा हात धुने स्टेशनका लागि २५ हजार लागत रहेको छ । केही सहयोगी हातहरुबाट पनि सहयोग भएको बताउनुहुँदै उहाँले हेटौंडासहित जिल्लाको विकट क्षेत्रमा पनि हात धुने स्टेशनको विस्तार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार हेटौंडाको पदमपोखरीमा हात धुने स्टेशनको माग भएको छ भने अन्य स्थानहरुमा स्थापना गर्न अन्य संस्थाहरुसँग समन्वय भैरहेको छ । लायन्स तथा लियेको अगुवाइमा राखिएको हात धुने स्टेशनको सम्बन्धी संस्था, नजिकैको नागरिकहरुलाई संरक्षणको जिम्मा लगाइएको छ भने अहिलेसम्म हात धुने स्टेशनमा पानीको व्यवस्थान हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्दै आएको छ ।
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालका अनुसार लकडाउनमा धेरै चहल पहल नहुँदा दैनिक प्रत्येक स्टेशनमा सरदरमा ५ सय लिटर पानी खपत भएको छ । मानिसहरुको चहलपहल धेरै हुने क्षेत्र हेटौंडा अस्पताल र जिल्ला प्रहरी कार्यालयमा धेरै खपत हुने गरेको छ भने अन्य स्थानमा सामान्य रहेको ढकालले बताउनुभयो ।