हेटौंडाः हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका दुई र सिन्धुलीका एक मृतकको परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरिएको प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले जानकारी दिनुभएको छ ।
हात्तीको आक्रमणमा परी फागुन ८ गते मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यस्तै फागुन ११ गते राती मकवानपुरको बकैया गाउँपालिका–५, पावसका सन्तलाल माझीको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१३, माथिल्लो रानीबासका ४० वर्षीय दण्डपाणि पौडेलको गत शनिबार हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
यस्तै मंगलबारको मन्त्रीपरिषद् बैठकले थाहा नगरपालिकालाई शितभण्डार निर्माणका लागि ३ करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजिनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ भने प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा. जयन्त नाथ खलालले राजिनामा दिनुभएको विषय जानकारी गराइएको थियो । राप्रपाबाट सदस्यमा मनोनित हुनुभएका खनालले प्रदेश सरकारबाट राप्रपा शनिबार बाहिरिएसँगै आइतबार उहाँले राजिनामा दिनुभएको हो ।