हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा नेपालको प्रथम सहीद लखन थापाको सालिकसहितको वृहत् पार्क बन्ने भएको छ । बागमती–७, लामिटारमा निर्माण गरिने पार्कको सोमबार बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले संयुक्तरुपमा सिलान्यास गर्नुभएको छ । पार्क निर्माण समितिको संयोजक खड्का बहादुर पुलामी रहनुभएको छ ।

मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमकाबीच पार्कको सिलान्यास गरिएको हो । पार्क करिब अढाई विघा क्षेत्रफलमा बन्ने संयोजक पुलामीले जानकारी दिनुभयो । बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले आगामी वर्ष बागमती गाउँपालिकालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाभित्रका सबै जातिको भाषा, कला, संस्कार तथा संस्कृति संरक्षणका लागि स्थानीय सरकार सधै प्रतिबद्ध रहेको बताउनुभयो ।

मगर समुदायको सम्मानमा पालिकाले सार्वजनिक विदा दिएको र आगामी दिनमा पालिकाको क्यालेण्डरमै विदा राखिने उहाँले बताउनुभयो । अध्यक्ष घलानले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पार्क निर्माणका लागि अहिले निर्माणस्थलको निरीक्षण गरिएको र आवश्यक बजेटका लागि तीनै तहका सरकारसँग पहल भइरहेको संयोजक पुलामीले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।