हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज सोमबार र भोलि मंगलबार सार्वजनिक विदा दिइएको छ । आइतबार गाउँपालिकाले सूचना जारी गर्दै सोमबार र मंगलबार दुई दिन विदा दिने जानकारी दिएको छ ।
मगर संघ स्थापना दिवस र माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवसको सार्वजनिक विदा दिएको हो । यस्तै, फागुन १६ गते मंगलबार माझी समुदायको मौलिक पर्व लदी (कोशी पर्व)को अवसरमा विदा दिइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कबहादुर घलानद्वारा हस्ताक्षर गरिएको विदाको सूचनामा पालिकाको अत्यावश्यकीय सेवाबाहेक सबै क्षेत्रमा विदा दिइएको छ । पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्था बन्द रहने बताइएको छ ।