हेटौंडाः मकवानपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पवन कुमार शाक्य चयन हुनुभएको छ । शनिबार भएको संघको चौथो अधिवेशनले शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
शाक्यको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा गोपीलाल विक रहनु भएको छ । उपाध्यक्षमा रुपेन्द्र राज बज्राचार्य र विजय विश्वकर्मा रहनु भएको छ । महासचिवमा राजकुमार रसाइली, सचिवमा राजकुमार विश्वकर्मा, सह–सचिवमा उज्जल शाक्य, कोषाध्यक्षमा कमल सिन्चुरी र सह–कोेषाध्यक्षमा लालुराम विश्वकर्मा रहनु भएको छ । अर्थलेखा समितिमा रुपक राज बज्राचार्य, शिक्षा समितिमा प्रेम रत्न शाक्य, स्वास्थ्य समितिमा महारथ बज्राचार्य, अनुगमन समितिमा सरोज सापकोटा, खेलकुद समितिमा नारायण बराली रहनु भएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम मकवानपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष केशव रसाइलीको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन समारोहमा सम्बोधन गर्ने व्यवसायीले दैनिक १० केजी सुनको कोटाले नेपाली बजारलाई पर्याप्त नहुने उल्लेख गरेका थिए । यस्तै व्यवसायीको सुरक्षा तथा सुन–चाँदीको खरिद–बिक्रीमा हुने समस्याका विषयमा संघले सरकार र प्रहरी–प्रशासनसँग स्पष्ट आफ्ना कुरा राख्नुपर्ने बताएका थिए ।