विपि वाचनालय तथा विपि संग्रहालय भवनको शिलान्यास गरिँदै ।

हेटौंडाः मकवानपुरमा विपि वाचनालय तथा विपि संग्रहालय स्थापनाका लागि भवन शिलान्यास गरिएको छ । शनिबार बिहान हेटौंडा–२ स्थित नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय परिसरमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले भवनको शिलान्यास गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार भवन निर्माण हुन लागेको हो । विपि संग्रहालय पूर्वाधार विकास निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रभात दाहालका अनुसार बागमती प्रदेश सरकारबाट प्राप्त हुने ४० लाख रुपैंयाबाट तत्काल एक तले भवन निर्माण हुने छ । तीन तलासम्म भवन निर्माणको योजना रहेको जानकारी दिनुहुँदै उहाँले थप एक तला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । भवनको निर्माण २०८० साल जेठ ३० गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनलाई नेपाली कांग्रेसका संस्थापक नेता विपिको संग्रहालय र विपि वाचनालयका रुपमा विकास गरिने नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामाले बताउनुभयो । उहाँले विपिका बारेमा अध्ययन गर्न र जान्न चाहनेहरुका लागि संग्रहालय सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साथै व्यवस्थित प्रशिक्षण केन्द्र पनि बनाइने उहाँको भनाइ छ । शिलान्यास समारोहमा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापतिहरु रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने, पूर्व कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानेको पनि उपस्थिति रहेको थियो ।