हेटौंडाः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मकवानपुरको अध्यक्षमा पुनः विष्णु दंगाल चयन हुनुभएको छ । बिहीबार भएको महासंघको पाँचौं जिल्ला अधिवेशनबाट दंगाल दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनले दंगालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बिष्णुमणि अधिकारी, सचिवमा शालिकराम बानियाँ, सहसचिवमा सशीन कर्माचार्य, कोषाध्यक्षमा सरस्वती दाहाल चयन हुनुुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्ष रहनेछ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्य तथा महासंघ मकवानपुरका अध्यक्ष दंगालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल र हिदम लामा, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य सम्राट तुम्बाहाम्फेलगायतको उपस्थिति रहेको थियो ।