हेटौंडाः दाना उत्पादक संघले भोलि आइतबारदेखि लागु हुने गरी कुखुराको दानामा प्रतिकेजी २ रुपैयाँ सस्तो गर्ने भएको छ । दाना उत्पादक संघका अध्यक्ष रविन पुरीका अनुसार मकैको मूल्य सस्तो भएसँगै दानाको प्रतिकेजी २ रुपैयाँ घटाउने निर्णय गरेको जानकारी दिनुभयो । यता कुखुरापालक किसान भने दानाको मूल्य प्रतिकेजी ६ रुपैयाँ घट्नुपर्ने दावी गर्छन् । अहिले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकेजी ६० रुपैयाँ र लेयर्स कुखुराको दानाको मूल्य प्रतिकेजी ५४ रुपैयाँ छ ।
कुखुराको दाना बनाउन ६० प्रतिशत मकै प्रयोग हुन्छ । हेटौंडा–१८, हर्नामाडीका कुखुरापालक किसान ऋषिराम दुलालका अनुसार मकै प्रतिकेजी ४० रुपैयाँबाट २८ रुपैयाँमा कारोबार भइसक्दा पनि दानाको मूल्य २ रुपैयाँ मात्र घटाउनु पर्याप्त हुँदैन । दुलाल भन्नुहुन्छ, ‘मकैको मूल्यमा १२ रुपैयाँ घटिसकेको छ । भटमासको पिना पनि ७५ रुपैयाँबाट ६० रुपैयाँमा झरिसक्यो । दानाको मूल्य भने २ रुपैयाँ मात्रै घटाउनु उचित हुन्न । किसानको पक्षमा बोलिदिने कोही भएन ।’
हेटौंडा औद्योगिक क्षेत्रस्थित सिद्धार्थ प्यालेट दाना उद्योगका सञ्चालक समेत रहेका दाना उत्पादक संघका अध्यक्ष रविन पुरीले भने नयाँ मकैको मूल्य घटेको भए पनि दाना बनाउन प्रयोग हुने अवस्थाको नभएको दावी गर्नुभयो । पुरीले भन्नुभयो, ‘दाना बनाउन मकैमा १० देखि १२ प्रतिशत ओसिलोपना हुनुपर्नेमा नयाँ मकैमा अहिले १८ प्रतिशतसम्म ओसिलोपना भएकोले सस्तो मकै प्रयोगमा आउन सकेको छैन ।’
यता मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी पनि दानाको मूल्य २ रुपैयाँ मात्रै घट्नु पर्याप्त नहुने बताउनुहुन्छ । दाना उद्योगलाई मूल्य घटाउन दबाव दिए पनि दाना उद्योग संघले थोरै मात्रै घटाएको अध्यक्ष अधिकारीको भनाइ छ । लेयर्स र ब्रोइलर गरी दुई प्रकारका कुखुरालाई कुखुराको उमेरअनुसार फरक फरक दाना खुवाउनु पर्ने हुन्छ ।