हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालन गरेको पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका १ लाख ५३ हजार ४२० बाख्रालाई खोप लगाईएको छ ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले यहि फागुन १ गतेदेखि ७ गतेसम्म संचालन गरेको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लामा १ लाख ८८ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । मन्त्रालयका अनुसार मकवानपुर जिल्लामा भेडा २ हजार ७९१ र बाख्राको संख्या ३ लाख ८ हजार ८४२ रहेको छ ।
मन्त्रालयले प्रदेश भित्रका १३ वटै जिल्लामा ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप अभियान संचालन गरेको थियो । मन्त्रालयको अनुसार बागमती प्रदेशमा ९ लाख ७३ हजार १२७ बाख्रा र ६ हजार ७५ भेडालाई सप्ताहव्यापि अभियानको क्रममा खोप लगाईएको छ । प्रदेश सरकारले १२ लाख ६९ हजार भेडाबाख्रालाई खोप लगाउने लक्ष्य राखेकोमा ९ लाख ७९ हजार २०२ भेडाबाख्रालाई मात्र खोप लगाउन सफल भएको छ ।
करिब २ लाख ९० हजार डोज खोप लक्ष्यभन्दा कम लगाईएको छ । अभियान सम्पन्न भएपनि अभियानको क्रममा पुग्न नसकिएको ठाउँहरुमा पशु प्राविधिकले पिपिआर रोगबिरुद्धको बाँकि रहेका खोपहरु लगाउने मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बताउनुभयो । ‘हिंजोसम्म अभियानको रुपमा हामीले खोप लगायौं ।’ उहाँले भन्नुभयो– ‘बाँकि डोजहरु अभियानले नभेटेको, जुन–जुन ठाउँमा आवश्यकता छ, त्यो ठाउँमा खोपको रुपमा प्रयोग हुन्छ ।’
नेपालमा पिपिआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राहरुको मृत्यु भई कृषकहरुले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको कारण सरकारले अभियान नै सञ्चालन गरेर किसानको घर–घरमा पुगि खोप लगाएको उहाँको भनाई छ ।
