हेटौंडाः मनमाया स्मृति गजल पुरस्कारबाट हेटौंडा-४ स्थित हेटौंडा स्कुलअफ म्यानेजमेन्ट क्याम्पसको कक्षा-१२ मा अध्ययनरत् उषाकिरण अधिकारी पुरस्कृत भएकी छिन् । शनिबार गजल मञ्च मकवानपुरले आयोजना गरेको माध्यमिक तह (कक्षा ९-१२) स्तरीय गजल प्रतियोगितामा प्रथम भई अधिकारी उक्त पुरस्कारबाट पुरस्कृत हुन सफल भएकी हुन् ।
गजल मञ्चले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्रा गर्दै आइरहेको छ । सोही अवसरमा १९९ औं गजल यात्रामा अधिकारीलाई नगद ५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो । अधिकारी नवसर्जक साहित्य चौतारी नेपालको उपाध्यक्ष समेत हुनुहुन्छ । पहिलो चरणमा सहभागी १८ जना मध्ये १० जनालाई मात्र गजल वाचनका लागि बोलाइएको थियो । गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले स्वर्गीय हजुरआमा मनमाया गौतमको स्मृतिमा २०६९ सालमा उक्त पुरस्कारको स्थापना गर्नुभएको थियो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगिताको निर्णायकको भूमिका गजलकार देवराज तिवारी र सुनिल गौतलले निभाउनुभएको थियो । यस्तै, गजल मञ्च मकवानपुरका सदस्य भोलाप्रसाद शिवकोटीले श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानका लागि अक्षय कोष निर्माण गर्नुभएको छ ।
गजल क्षेत्रमा योगदान पुर्याउने गजलकारलाई उक्त सम्मानबाट सम्मानित गरिने उद्देश्यले शिवकोटीले नगद ५० हजार रुपैयाँ अक्षय कोष निर्माण गर्नुभएको हो । जुन हरेक वर्ष गजल क्षेत्रमा योगदान गरिने एक जना व्यक्तिलाई नगद ५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिने समर्पणले जानकारी दिनुभयो ।