नवगठित विद्यालय व्यवस्थापन समितिको साथमा विद्यालय शिक्षकहरु ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक मावि व्यवस्थापन समितिको अध्यक्षमा विवेक कार्की चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिमा सदस्य मनोनित हुनुभएका कार्कीलाई आइतबार बसेको व्यवस्थापन समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रमिक माविकै पूर्वविद्यार्थी कार्की सिभिल इन्जिनियर हुनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुभएका कार्कीले आइतबारै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष कार्कीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय प्रशासनलाई सहयोग गर्नुका साथै समुदायलाई पनि परिचालन गर्न सहयोग गर्ने बताउनुभएको छ । आफूले शिक्षा लिएको विद्यालयको शैक्षिक सुधारका लागि पूर्वविद्यार्थी समूहलाई पनि क्रियाशील गराउने कार्कीको भनाइ छ ।

माघ २३ गते सोमबार ५५ औं अभिभावक भेलाबाट रिता दहाल, केशव प्रसाद बन्जारा, मीरा माझी र सुमन माझीलाई सदस्य चयन गरेको थियो । आइतबार विद्यालय व्यवस्थापन समितिले विवेक कार्की र विश्वेश्वरी मलेकुलाई सदस्य मनोनित गरेको थियो । अभिभावकबाट सदस्यमा निर्वाचित हुनुभएकी रिता दाहालकी छोरी भरोसा दाहाल कक्षा–१० मा अध्ययनरत छिन् । केशब प्रसाद बन्जाराका छोरा विवेक बन्जारा कक्षा ८ मा अध्ययनरत छन् । मिरा माझीकी छोरी सन्चित माझी कक्षा २ मा अध्ययनरत छिन् भने सुमन माझीका छोरा संयोग माझी कक्षा–५ मा र छोरी रुबी माझी नर्सरीमा अध्ययनरत छिन् ।

विद्यालय व्यवस्थापन समिति सदस्यमा वडा प्रतिनिधि वडा सदस्य गीता त्रिपाठी, शिक्षक प्रतिनिधि सुशील कुमार पोख्रेल रहनुभएको छ । विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक श्रीराम दहाल सदस्य सचिव हुनुहुन्छ ।